ओझासँग प्राधिकरणको अध्यक्ष बन्ने योग्यता नरहेको छानबिन समितिको निष्कर्ष


काठमाडौं – नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको योग्यता विवादबारे अध्ययन गर्न गठन भएको समितिले उनको योग्यतामा नपुगेकाे निष्कर्षसहित प्रतिवेदन तयार पारेकाे । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा गठित समितिले ओझाको योग्यतामा समस्या देखिएको तथ्यसहित आइतबार प्रतिवेदन सरकारलाई बुझाएको हाे ।

समितिले प्राधिकरणको अध्यक्षका लागि आवश्यक योग्यता ओझामा नभएको पुष्टि गरेको छ । गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश गिरीको संयोजकत्वमा समिति गठन गरेका थिए।

समितिमा नेपाल सरकारका पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बीमा समितिका पूर्वसदस्य कपिलदेव ओली सदस्य थिए। गत फागुन १२ गते मन्त्रिपरिषद् बैठकले कञ्चनपुर घर भएका ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो।