बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट ललितपुरको नख्खु कारागार स्थानान्तरण गरिएको छ । लामिछाने भैरहवास्थित रुपन्देही कारागारमा १ सय २६ दिन बसेर शनिबार नख्खु कारागारमा सरुवा भएका हुन् ।
लामिछानेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको यूए ८६० जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिएको हो । कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेको नख्खु कारागारमा स्थानान्तरणका लागि रुपन्देही कारागारलाई पत्र पठाएसँगै स्थानान्तरण गरिएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गएको चैत २५ गते जिल्ला कारागार रुपन्देहीमा पुर्पक्षका लागि जेल चलान भएका थिए । लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो तर, सरुवा भने भएको थिएन ।
कारागारको भित्तामा रविले लेखे– ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ’ शनिबार रुपन्देही कारागारबाट निस्किनु अघि लामिछानेले आफू बसेको कोठाको भित्तामा एक सन्देश लेखेर छाडेका छन् । ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ,’ भन्ने सन्देश कारागारको भित्तामा लेखेको लामिछानेले बताएका छन् ।
भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा रहेका रास्वपा प्रवक्ता मनीष झा र उपसभापति डा. स्वर्णिम वाग्लेले लामिछानेलाई विमानस्थलमा छोटो भेट गरेका थिए । सोही भेटमा लामिछानेले आफू राजनीतिक प्रतिशोधबाट नडराएको र नेपालको कुनै पनि कुनामा बस्न तयार रहेको बताएका थिए । ‘राजनीतिक प्रतिशोधले यिनीहरूले मलाई मंगलग्रह लगे पनि डराउँदिनँ, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले लामिछानेको भनाइ उद्धृत गर्दै भने, ‘म बसेको कारागारको कोठाको भित्तामा मैले यो (अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ) सन्देश लेखेर आएको छु ।’
विमानस्थलमा छोटो भेटका क्रममा लामिछाने उज्यालो अनुहारमा देखिएको र कुनै त्रास नदेखिएको प्रवक्ता झाले बताए ।लामिछानेले आफूलाई १२६ दिनसम्म सहयोग गर्ने भैरहवाका जनता, सुरक्षाकर्मी र कारागार प्रशासनप्रति आभार व्यक्त गरेका छन् ।



About Us
प्रतिक्रिया