बुटवल – भैरहवास्थित रुपन्देही जिल्ला कारागार कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राखेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखेको छ । कारागार प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गरी पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने बस्ने कोठाको झ्यालबाट प्लाइउड हटाएर जाली राखिएको जानकारी दिएको हो ।
‘यस कारागारमा विगत चार महिनादेखि सहकारी ठगी सङ्गठित अपराध मुद्दामा थुनुवाको रूपमा रहनुभएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भ देखि नै छुट्टै बन्दी गृहको (अलग्गै एउटा कोठामा) राखिएको छ ।’, कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ । उक्त कोठाको झ्यालमा साबिकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ।’
रुपन्देही जिल्ला कारागार कार्यालयले लामिछानेलाई राखिएको कोठाका सन्दर्भमा केही दिनयता सञ्चारमाध्यममा समाचार आइरहेकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कारागार कार्यालयका अनुसार २५० जना बन्दी राख्ने क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना बन्दी छन् । क्षमताभन्दा तीन गुणा बढी बन्दी रहेको अवस्थामा पनि कारागारमा उपलब्ध स्रोतसाधनको परिचालन गरी कानुनबमोजिमका सेवा–सुविधा समयमै उपलब्ध गराइरहेको दाबी कारागार कार्यालयले गरेको छ।
‘कारागारको भौतिक संरचना र क्षमताअनुसार बन्दीहरूलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा/पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरूलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराउँदै आएको छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘कारागार ऐन, २०७९ तथा कारागार नियमावली, २०२० बमोजिम अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई थप सुविधासमेत उपलब्ध गराउने गरिएको छ । थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनबमोजिमका सकारात्मक विभेदबाहेक बन्दीहरूको बीचमा अन्य विभेद गरिएको छैन ।

कारागार प्रशासनको तर्फबाट समय समयमा कारागारभित्रको वस्तुस्थिति अवलोकन गर्ने बन्दीहरूका गुनासो सुन्ने र स्रोत–साधनले भ्याएसम्म त्यसको सम्बोधन गर्ने कार्य गरिँदै आएको छ ।’ रास्वपा सभापति लामिछाने पछिल्लो ४ महिनादेखि रुपन्देही कारागारमा थुनामा छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्चको आदेशविरुद्ध रवि सर्वोच्च अदालत पुगेका थिए । गत जेठ ९ गते सर्वोच्च अदालतले समेत उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।
उच्च र सर्वोच्चको आदेश विपरीत रविले जिल्ला अदालतमा बिगो बमोजिमको रकम लिई थुनामुक्त गरी पाऊँ भन्दै यही साउन १९ गते पूरक निवेदन दिएका थिए । लामिछानेलाई थुनामुक्त गर्न माग गरिएको निवेदन रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गत सोमबार लामिछानेको मागबमोजिम रिहाइ नहुने आदेश जारी गरेको हो । अदालतको पछिल्लो आदेशसँगै लामिछानेको कारागार बसाई थप लम्बिएको छ ।



About Us
प्रतिक्रिया