तीन सरकारी बैंकको वित्तीय रिपोर्ट: नाफामा कृषि अगाडी, लाभांश दिन नसक्ने स्थितिमा नेपाल बैंक 


काठमाडौं – सरकारकारी स्वामित्वमा सञ्चालनमा रहेका ३ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरणमा सुधार गरेर विवरण प्रकाशित गरेका हुन् । सरकारी स्वामित्वका बैंकहरु कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले नाफामा उल्लेख्य सुधार गरेका छन् ।

जसमा कृषि विकास बैंकको गत वर्ष खुद नाफा ४३.३८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवको असार मसान्तसम्म बढेर ४ अर्ब १५ करोड रुपैयाँ नाघेको हो । साथै, नेपाल बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ३२.६५ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड पुगेको छ। 

जबकि बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८४ करोड खुद नाफा आर्जन गरेको थियो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य वृद्धि आएको छ । बैंकले आर्थिक वर्ष २०८१८२ मा नाफा उल्लेख्य वृद्धि गर्दै ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

सरकारी स्वामित्वका बैंकहरुमध्ये दुई बैंक खुद ब्याज आम्दानीमा बराबर स्थानमा छन् । राष्ट्रिय वाणिज्य बैंकले ब्याज आम्दानीमार्फत १० अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको छ भने नेपाल बैंकले पनि गत आर्थिक वर्षमा १० अर्ब ८ करोड खुद ब्याज आम्दानी गरेको छ । यता, कृषि विकास बैंकले गत आर्थिक वर्ष ९ अर्ब ८२ करोड खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५५ करोड रहेको थियो । 

लाभांश दिन नसक्ने स्थितिमा नेपाल बैंक 

सरकारी स्वामित्वमा रहेका बैंकमध्ये लाभांश क्षमतामा कृषि विकास बैंक अब्बल देखिएको छ । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५५ करोड २० लाख पुगेको छ । जसको आधारमा बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको गत आर्थिक वर्षमा वितरणयोग्य नाफा ३० करोड रुपैयाँ कायम छ । जुन, १.९४ प्रतिशत लाभांश वितरणका लागि ठिक हुन्छ ।

यता, नेपाल बैंक भने लाभांश दिन नसक्ने स्थितिमा छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार ऋणात्मक छ । जसका कारण बैंकले लाभांश दिन नसक्ने भएको हो ।