दक्षिण कोरियाको पूर्व प्रथम महिला किम किओन ही भ्रष्टाचार आरोपमा पक्राउ


काठमाडौं – दक्षिण कोरियाकी पूर्व राष्ट्रपति युन सुक येओलकी श्रीमती र पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। हीलाई पुँजी बजारमा प्रभाव पार्ने र भ्रष्टाचारसम्बन्धी विभिन्न अभियोगमा मंगलबार राति पक्राउ गरिएको हो । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ५२ वर्षीय किमविरुद्ध पक्राउ पुर्जी जारी गरेको केही घण्टापछि उनलाई नियन्त्रणमा लिइएको हो। 

विशेष अभियोजकले व्यापक अनुसन्धानको क्रममा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्।अभियोजनकर्ताहरूले किमको कथित ‘गैर कानुनी कार्य’ सम्बन्धी ८४८ पृष्ठ लामो रिपोर्ट पेस गरेपछि, प्रमाण नष्ट हुने सम्भावनाका कारण पक्राउ पुर्जी जारी गरिएको बताइएको छ।

यो गिरफ्तारीसँगै दक्षिण कोरियाको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपति र प्रथम महिला दुवै जेलमा परेका छन्। किममाथि पुँजी बजार र वित्तीय लगानीसम्बन्धी कानुन, साथै राजनीतिक कोषसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप छ।

गत वर्ष डिसेम्बरमा मार्शल लागू गर्ने उनको प्रयास असफल भएपछि पूर्व राष्ट्रपति युन सुक येओललाई जुलाईमा हिरासतमा पठाइएको थियो। किमविरुद्ध १६ आपराधिक आरोपहरूको अनुसन्धान चलिरहेको थियो, तर बुधवार जारी पक्राउ वारेन्टले मात्र तीन मुख्य आरोप समेटेको छ।

अभियोजकहरूले किममाथि २००९–२०१२ को बीचमा स्थानीय बीएमडब्ल्यू डिलरशिप ड्यूश मोटर्सको स्टक मूल्यमा हेरफेर गरेर अन्य व्यक्तिहरूसँग मिलेर कृत्रिम रूपमा शेयर बढाउने षड्यन्त्र गरेर ८०० मिलियन वन भन्दा बढी कमाएको आरोप लगाएका छन्।

किमले पक्राउ पुर्जीलाई अदालतमा गैर कानुनी भन्दै चुनौती दिन सक्ने अधिकार छ। जमानतको विकल्प भए पनि प्रमाण नष्ट हुने जोखिम उच्च देखिएको कारण यसमा सफलता मिल्न सक्ने सम्भावना कम रहेको कानुनविद्ले बताएका छन्। यस घटनापछि पूर्व राष्ट्रपति दम्पती दुवै सदस्यहरू हिरासतमा हुनुको अभूतपूर्व अवस्था सिर्जना भएको छ।