२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काडमाडौं – बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै आज अर्थात साउन २८ गते २५ अर्ब निक्षेप संकलन गर्न लागेको बताएको हो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागकाअनुसार २५ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । उक्त निक्षेप संकलनमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज ३ बजेसम्म अनलाईन आवेदन दिनसक्नेछन् । राष्ट्र बैंकले उक्त निक्षेपको ब्याज बोलकबोलका माध्यमबाट निर्धारण हुने बताएको छ । यस्तै, सो निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८२ भदौ २२ गते हुनेछ ।

सो निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने उल्लेख छ । केन्द्रीय बैंकले निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने बताएको छ । यस्तै, निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।