काठमाडौं – यतिबेला बैंक तथा वित्तीय संस्थाहरुले धमाधम गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गर्दै आइरहेका छन् । बैंक तथा वित्तीय संस्थाले अघिल्लो वर्षको आधारमा वित्तीय विवरणमा राम्रो सुधार गरिरहेका छन् ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका १० वटा वाणिज्य बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले नाफामा उल्लेख्य सुधार गरेका छन् । हालसम्म गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा माच्छापुच्छ्रे बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, हिमालयन बैंक र नबिल बैंक रहेका छन् ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको लाभांश क्षमता पनि राम्रै देखिएको छ । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुमा लाभांश वितरणमा एभरेष्ट बैंक अब्बल देखिएको छ । यस्तै, एभरेष्ट बैंकको गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ । जसको आधारमा बैंकले ३८.२६ प्रतिशत लाभांश बाँड्ने क्षमता राखेको छ। सानिमा बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेर २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ । जसअनुसार बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।
यस्तै, कृषि विकास बैंकको वित्तीय विवरणमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ । नबिल बैंकको गत आर्थिक वर्षको खुद नाफाबाट वितरणयोग्य लाभांश क्षमता १७.६४ प्रतिशत रहेको छ भने सिद्धार्थ बैंकको गत वर्ष वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । जसको आधारमा बैंकले १३.२२ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।
यसैगरी, एनएमबि बैंकको गत वर्ष १ अर्ब ९० करोड ९५ लाख रुपैयाँ छ । जसका आधारमा बैंकको लाभांश क्षमता १०.४० प्रतिशत देखिएको छ । माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८१/८२ वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । जसअनुसार बैंकको लाभांश दिने क्षमता ९.२३ प्रतिशत छ । यस्तै, सिटिजन्स बैंकको वितरणयोग्य नाफा ७७ करोड ५४ लाख रुपैयाँ छ । जसका आधारमा बैंकले ५.२५ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

कुमारी र हिमालयनले लाभांश बाड्न नसक्ने
लाभांश वितरण क्षमतामा ८ बैंक अब्बल देखिदा २ बैंक लाभांश बाँड्न नसक्ने अवस्थामा देखिएका छन् । लाभांश बाँड्न नसक्ने बैंकहरुमा कुमारी बैंक र हिमालयन बैंक रहेका छन् । गत वर्ष २ अर्ब ११ करोड ६४ रुपैयाँ नाफा कमाएको कुमारी बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ । जसका कारण बैंकले लाभांश वितरण गर्न नसक्ने भएको हो ।
यस्तै, हिमालयन बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड २५ लाख बढी नाफा आर्जन गर्दा पनि लाभांश क्षमता भने ऋणात्मक देखिएको छ । गत वर्ष बैंकको लाभांश क्षमता ७ अर्ब १० करोड ऋणात्मक छ । अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ४४ करोड ऋणात्मक रहेको थियो । वितरणयोग्य नाफा ऋणात्मक हुँदा बैंकले लाभांश वितरण गर्न सक्दैन । जसकारण शेयरधनीहरुको हात खाली रहने छ ।






About Us
प्रतिक्रिया