‘पीएसपी र पीएसओको भूमिका बुझौं र डिजिटल भुक्तानीको सही उपयोग गरौंँ’


काठमाडौं– नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थाको बारेमा बुझ्न सर्वसाधरणमा अपिल गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै डिजिटल भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन अनुमति प्रदान गरेका विद्युतीय भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू पीएसपी र पीएसओकाे बारेमा जानकारी दिएकाे हाे ।

केन्द्रीय बैंकका अनुसार भुक्तानी सेवा प्रदायक (पीएसपी) ले सर्वसाधारण सेवाग्राहीका लागि वस्तु, सेवा, सम्पत्ति वा अन्य दायित्वको भुक्तानी, स्वदेशमा रकम स्थानान्तरण तथा विद्युतीय माध्यमबाट भुक्तानी कारोबार सञ्चालन गर्छन् । पीएसपीका उदाहरण इसेवा, खल्ती, प्रभु पे आदि हुन्।

यस्तै, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) ले समाशोधन गृह, विद्युतीय कार्ड वा अन्य अनलाइन भुक्तानी सञ्जाल सञ्चालनमार्फत भुक्तानी कार्यको सञ्चालन, व्यवस्थापन र समाशोधनको कार्य गर्छन् ।

पीएसओका उदाहरण नेपाल क्लियरिङ हाउस लिमिटेड, फोनपे, एससिटी आदि रहेका छन् । केन्द्रीय बैंकले ‘पीएसपी र पीएसओको भूमिका बुझी र डिजिटल भुक्तानीको सही उपयोग गर्न अनुराेध गरेकाे छ ।