बुटवल – सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत, रुपन्देहीमा दायर गरेको निवेदनमाथि अहिले सुनुवाइ भइरहेको छ ।
लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ भइरहेको छ। अदालतका सूचना अधिकारी तथा शाखा अधिकृत पदम अर्यालले रविको निवेदनमाथि सुनुवाइ सकिए सोमबार नै आदेश आउन सक्ने सम्भावना रहेको जानकारी दिए । सुनुवाइपछि लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि धरौटीमा थुनामुक्त गर्ने कि थुनामै राख्ने भन्ने आदेश आउने छ ।
बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै साउन १९ गते अदालतमा निवेदन दिएका थिए। उनले बिगो बराबरको रकम बैंक ग्यारेन्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका छन्।
लामिछानेले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि निवेदनसँगै पेस गरेका थिए । सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी जिल्ला कारागार रुपन्देहीमा छन् ।



About Us
प्रतिक्रिया