७ बैंकको वित्तीय विवरणले देखायो अर्थतन्त्र चलायमान बनेको संकेत


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरणले अर्थतन्त्रमा केही सुधार हुँदै गएको संकेत देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार बैंकहरुको अधिकांश सूचक सकारात्मक देखिएको हो ।

हालसम्म ७ वटा बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा माच्छापुच्छ्रे बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र सिटिजन्स बैंक रहेका छन् । यि बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अघिल्लो आर्थिक वर्षकोभन्दा धेरै सुधार देखिएको छ ।

हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुले गत आर्थिक वर्षमा गरेको खुद नाफा अघिल्लो आर्थिक वर्षको भन्दा सुधारिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्नका लागि १५ दिन समय बढाउँदा पनि बैंकहरुको वित्तीय विवरणमा सुधार आएको हो । केन्द्रीय बैंकले १५ दिनको समय दिएसँगै बैंकहरुले रिकभरीमा फोकस गरेका थिए । बैंकका उच्च व्यवस्थापन देखि तल्लो तहका कर्मचारीहरु रिकभरिमा जोड दिँदा बैंकको वित्तीय विवरणमा सुधा आउनुका साथै खराब कर्जा दर पनि घटेको छ ।

कुन बैंक नाफा र लाभांश वितरण स्थिती कस्तो ?

हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको नाफासँगै अन्य सूचकमा पनि सुधार आएको छ । माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ९२ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ९२.४४ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ पुगेको हो । हाल बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । जसअनुसार बैंकको लाभांश दिने क्षमता ९.२३ प्रतिशत छ ।

यस्तै, अघिल्लो आर्थिक वर्षमा जम्मा ४६ लाख मात्रै नाफा कमाएको कुमारी बैंकले गत वर्ष २ अर्ब ११ करोड ६४ रुपैयाँ नाफा कमाएको छ । तर यो बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ । यो वितरणयोग्य नाफा अघिल्लो वर्ष भने ५ अर्ब ३६ करोडले ऋणात्मक थियो ।

यसैगरी, कृषि विकास बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको छ । बैंकको नाफा गत वर्ष ४३.३८ प्रतिशतले बढेर बढेर ४ अर्ब १५ करोड रुपैयाँ नाघेको हो । बैंकको खराब कर्जा पनि ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा पुगेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ छ ।

साथै, अघिल्लो आर्थिक वर्ष २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको सानिमा बैंकले गत आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा ७.२५ प्रतिशतले बढी हो । यस्तै, बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेर २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ । जसअनुसार बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

यस्तै, एभरेष्ट बैंकको नाफामा पनि ३२ प्रतिशत सुधार आएको छ । बैंकको गत आर्थिक वर्ष २०८१÷८२ मा खुद नाफा ३२.८० प्रतिशत बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ पुगेको छ । यस्तै, बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ । जसको आधारमा बैंकले ३८.२६ प्रतिशत लाभांश बाँड्ने क्षमता राखेको छ ।

यस्तै, सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढेको छ । गत वर्ष बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । हाल बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । प्रतिशेयर १३ रुपैयाँ २२ पैसा वितरणयोग्य नाफा हो । अन्य सूचक सुधार हुँदा बैंकको निष्क्रिय कर्जा भने बढेर २.६२ प्रतिशत पुगेको छ ।

यता, सिटिजन्स बैंकको भने गत आर्थिक वर्षको खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत गिरावट आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब २९ करोड ३३ लाख खुद नाफा गरेको छ । हाल बैंकको वितरणयोग्य नाफा ७७ करोड ५४ लाख रुपैयाँ छ ।

आजसम्म सञ्चालनमा रहेका ७ वाणिज्य बैंकको वित्तीय विवरणले अब सार्वजनिक हुन बाँकी विवरणमा पनि सुधार आउने अपेक्षा गर्न सकिन्छ ।