‘रविलाई राखेको कोठामा छैन एसी, झ्याल प्लाईले टालिएको छ’


बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेको रुपन्देही कारागारको अवस्था सामान्यभन्दा कमजोर देखिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगका प्रतिनिधिहरूले सोमबार रुपन्देही कारागारको अनुगमनपछि लामिछानेलाई राखिएको कोठामा वातानुकूलित एसी, कुलर नरहेको र झ्यालमासमेत प्लाईउडले टालेर बन्द गरिएको स्पष्ट पारेका छन् ।

आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा क्षमताभन्दा धेरै कैदी बन्दी राखिएको छ भने आधारभूत सुविधाको समेत अभाव छ । उनले शौचालयको संख्या अपुग हुनुका साथै रहेका शौचालयको अवस्था पनि सन्तोषजनक नरहेको बताइन् । आयोगको टोलीले झन्डै दुई घण्टा कारागार भित्र बिताएको थियो । २५० क्षमताको कारागारका ६२७ कैदीबन्दीहरु रहनु सरकारको कमजोरी रहेको टोलीले बताएको छ । अनुगमनका क्रममा मानव अधिकार आयोगले सबै कैदीबन्दीका अवस्थाबारे बुझेको थियो ।

रवि लामिछानेलाई कारागारमा ४२० स्क्वायर फिटको छुट्टै कोठामा राखिएको छ । त्यो कोठामा अट्याच शौचालय भए पनि खुला रहेको आयोगकी प्रवक्ता थापाले बताइन् । ‘अट्याच शौचालय छ तर पूरा गारो लगाएको छैन, हल्का मात्रै गारो लगाइएको छ । कोठाभित्र भुईँमा निलो कार्पेट बिच्छाइएको छ, दुई वटा पंखा छन्, एउटा खाट र एउटा सानो टेबुल छ ।’, उनले भनिन्, ‘जिल्ला अदालत रुपन्देहीबाट अर्को स्थानमा स्थानान्तरण गर्नका लागी सुविधा पाउँदा पनि सरकारले सहयोग नगरेको कुरा आएको छ ।’, उनले भनिन् ।

रविलाई राखिएको कोठाको झ्याल प्लाईले छोपिएकाले हावा प्रवेश गर्न सक्ने व्यवस्था नभएको उनले बताइन् । सुरक्षाको कारण देखाउँदै कारागार प्रशासनले झ्याल बन्द गरिएको बताए पनि झ्याल खोल्न आग्रह गरेपछि प्रशासन त्यसका लागि सहमत देखिएको प्रवक्ता थापाले बताइन् ।

‘उहाँले अहिलेसम्म घुमफिर (बाहिर हिँडडुल) गर्न पाएको छैन । बाहिर गएर स्वच्छ हावा लिन पाउनुप¥यो, पत्रपत्रिका पढ्न पाउनुपर्याे, न्युज सुन्न पाउनुपर्याे भन्ने कुरा गर्नुभयो,’ उनले भनिन्, ‘उहाँले कानुनी सहायता पनि लिन नपाएको, मुद्दा लड्न कानुन व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएकोजस्ता कुरा पनि सुनाउनुभयो ।’ आयोगले समग्रमा कारागारभित्र मानवीय तथा आधारभूत सुविधाको सुधार आवश्यक रहेको टिप्पणी गरेको छ । रुपन्देही कारागारको अवस्थाबारे आयोगले छिट्टै आफ्नो धारणा सार्वजनिक गर्ने थापाले बताइन् ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका छन् । लामिछानेले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ दाखिला गरिदिएको बताएका छन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी भैरहवा कारागारमा छन् । उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन् ।