काठमाडौं – लमजुङको बेसिशहरस्थित सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको भन्दै प्रहरीले सहकारीका तत्कालीन प्रबन्धक पदमबहादुर रावतलाई पक्राउ गरेको छ । सहकारीको लगभग ६ करोड ५४ लाख हिनामिना भएको जिल्ला प्रहरीले जनाएको छ ।
सहकारीका सञ्चालक, व्यवस्थापकलगायतका पदाधिकारीहरूले बचतकर्ता र शेयर सदस्यको रकम तथा संस्थाको कोष हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रेशम बोहराले बैंकिङ्ग समाचारलाई बताएका छन् ।
सहकारी रजिस्ट्रार कार्यालय पोखराले मिति २०८२ साउन १९ गते चलानी नम्बर २९३ मार्फत पठाएको पत्र र प्रतिवेदनको आधारमा सहकारी ऐन, २०७४ अन्तर्गत परिभाषित कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको हो ।
बेसीशहर नगरपालिका–७, लमजुङमा रहेको उक्त सहकारीका पदाधिकारीहरूले शेयर, बचत, संस्थागत कोषलगायत सम्पत्ति अनियमित गरेको भन्दै आवश्यक कारबाहीका लागि पत्राचार भएको हो।
प्रहरीले पीडित बचतकर्तालाई आफ्नो नागरिकता प्रमाणपत्रसहित सहकारीमा रकम जम्मा गरेको प्रमाण-पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्रलगायतको सक्कल लिएर यथाशीघ्र जिल्ला प्रहरी कार्यालय लमजुङको अपराध अनुसन्धान शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।



About Us
प्रतिक्रिया