आदिवासी जनजातिले विदेशी भूमिमा रहेर संस्कृतिको जगेर्नाका लागि गरेको पहल उत्कृष्ट छ: कृष्णप्रसाद चापागाईँ


काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) दुबई महावाणिज्य दूतावासका उप–महावाणिज्य दूत कृष्णप्रसाद चापागाईँले आदिवासी जनजातिले दुबईमा संस्कृतिको जगेर्नाको लागि आदिवासी जनजातिले गरेको पहल निकै उत्कृष्ट रहेको बताएका छन्। ’संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयन गर: आदिवासी समुदायका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्माण गर; प्रदेश तथा स्थानीय तहमा मातृभाषाको प्रयोग सुनिश्चित गर’ भन्ने मूल नाराका साथ युएईमा ३१औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सो बताएका हुन् । 

उनले विदेशी भूमिमा आदिवासी जनजातिको रूपमा ऐक्यबद्ध हुनु गर्वको विषय भएको औँल्याए। ‘आदिवासी जनजाति भनेको जहाँ प्रकृति, जल–जमिनसँग जोडिएको जाति हो। यसको आफ्नै इतिहास, पहिचान र संस्कृति छ। यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो,’ उनले भने।

चापागाईँले महावाणिज्य दूतावासले यस्ता कार्यक्रमलाई प्रोत्साहन दिने प्रतिबद्धता व्यक्त गर्दै यस्तो सांस्कृतिक धरोहरको जगेर्ना महावाणिज्य दूतावासको कर्तव्य भएको बताए। साथै, नेपाल बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक मुलुक भएकाले यसको जगेर्ना गर्दै अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्नु सबैको दायित्व रहेको पनि उल्लेख गरे।

नेपाल आदिवासी जनजाति महासंघ युएई (नेफिन युएई) र यससँग आबद्ध ११ वटा जातीय सङ्घ-संस्थाको संयुक्त आयोजनामा आज (अगस्ट १०) का दिन दुबईस्थित SK7 क्लबको सभा हलमा संयुक्त अरब एमिरेट्स (यूएई)दुबई महावाणिज्य दूतावास (कन्सुलेट) का उप-महावाणिज्य दूत कृष्णप्रसाद चापागाईँ प्रमुख आतिथ्ययतामा कार्यक्रम मनाइएको हो ।

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको महासभाले अगस्ट ९ लाई विश्व आदिवासी दिवसको रूपमा घोषणा गरेपछि यो दिवस विश्वभर मनाइँदै आएको छ। अगस्ट ९ को अवसरमा शनिबार नेपालमा पनि काठमाडौंसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको थियो ।

दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह सुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन पनि गरिएको थियो । तर, युएईमा सार्वजनिक बिदा नपर्ने भएकाले नेपाली समुदायले सुविधाअनुसार अगस्ट १० का दिन कार्यक्रम आयोजना गर्दै मनाएका हुन् ।

हालसम्म नेफिन युएईमा तमु समाज युएई, नेपाल मगर संघ युएई, तामाङ समाज युएई, किरात राई यायोख्खा युएई, किरात याक्थुङ चुम्लुङ युएई, थारु कल्याणकारी सभा युएई, नेवा: पुचः युएई, शेर्पा किदुङ युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, सुनुवार सेवा समाज युएई, माझी समाज युएई आबद्ध छन्। साथै, राजवंशी सेवा समाज युएई र आदिवासी युवा महासंघ युएईको सहकार्य रहेको छ ।