अमेरिकाद्वारा भेनेजुएला राष्ट्रपति पक्राउमा सहयोग गर्नेलाई ५ करोड डलर पुरस्कार घोषणा


काठमाडौं  – अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने व्यक्ति वा निकायलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।

अमेरिकाले यस अघि उनलाई पक्राउ गर्नेलाई  साढे २ करोड अमेरिकी डलर दिने घोषणा गरेको थियो । जसलाई बढाएर ५ करोड अमेरिकी डलर पुरस्कार दिन लागेको हो । अमेरिकी विदेश मन्त्रालयको अनुसार मादुरोमाथि अन्तर्राष्ट्रिय लागु औषध तस्करी, सङ्गठित आपराधिक गतिविधि र भ्रष्टाचारमा संलग्न रहेको आरोप लागेका छन्। मादुरोलाई पक्राउ गर्न आवश्यक सूचनाको लागि यो पुरस्कार घोषणा गरिएको हो।

मादुरोलाई अमेरिकाले ’विश्वको सबैभन्दा ठुलो लागूपदार्थ तस्करहरू मध्ये एक’ भएको आरोप समेत लगाएको छ । अमेरिकाले विगतदेखि नै मादुरो प्रशासनलाई गैर–लोकतान्त्रिक भन्दै आलोचना गर्दै आएको छ। मादुरोमाथि अमेरिका र अन्य पश्चिमी मुलुकहरूले मानवअधिकार उल्लङ्घन र चुनावी धाँधलीका आरोप पनि लगाएका छन्।

यसअघि पनि अमेरिकाले मादुरोको वरिपरि रहेका शीर्ष नेताहरूलाई पक्राउ गराउन करोडौँ डलरको पुरस्कार घोषणा गरिसकेको थियो। मादुरो प्रशासनले भने यी आरोपहरूलाई अस्वीकार गर्दै यसलाई ‘अमेरिकाको राजनीतिक षड्यन्त्र’को संज्ञा दिएको छ।