ब्राजिलबाट नेपाल आएकी एक विदेशी महिलाको ब्राभित्र भेटियो २ केजी कोकिन 


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले ब्राजिलियन महिलालाई ब्राभित्र कोकिन लुकाएर लैजान खोजेको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा ब्राजिलकी २१ वर्षीया  एमिली मिकेल सन्तोष फरेरा  रहेकी छिन् । 

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, विमानस्थल गौचरमा खटिएको विशेष प्रहरी टोलीले ब्राजिलबाट दोहा हुँदै नेपाल आई भुटान जान लागेकी २१ वर्षीया महिलालाई शङ्कास्पद गतिविधि देखेर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार महिलाले लगाएको कालो रङ्गको ब्राभित्र तरल अवस्थामा राखिएको १ किलो ९५० ग्राम कोकिन फेला परेको छ। लागू औषधको सो खेप अन्तर्राष्ट्रिय अवैध कारोबारमा संलग्न समूहका लागि लैजाने तयारी रहेको प्रहरीको अनुमान छ।

पक्राउ परेकी महिलामाथि लागू औषध (नियन्त्रण) ऐन २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।