पहिलो नाइमा मोबिलिटी एक्स्पो : चाडपर्वको पूर्वसन्ध्यामा बजार चलायमान बन्ने अपेक्षा


काठमाडौं – यही साउन २१ गतेदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’ सञ्चालन भइरहेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आयोजना गरेको सो एक्स्पो काठमाडौंको भृकुटीमण्डप सञ्चालन भइरहेको हो ।

सो प्रदर्शनीमा ३५ वटा नयाँ मोडलका गाडीहरू सार्वजनिक भएका छन् भने जसमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कर्मसियल गाडीहरू रहेका छन् । सो प्रदर्शनीमा यस प्रदर्शनीमा जीएमडब्लु, बीवाईडी, हुन्डाई, एमजी, महिन्द्रा, किया, टोयोटा, निसान लगायतका ५० भन्दा बढी ब्रान्डहरू सहभागी छन् ।

सो पदर्शनीले अटो व्यवसायीको व्यवसाय सुधार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । चलायमान बन्दै गएको अर्थतन्त्रमा पनि थप सहयोग पुग्ने आजेजको अपेक्षा छ । नाइमाले नाडा अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) बाट छुट्टिएपछि पहिलो पटक नाइमा मोबिलिटी एक्स्पो आयोजना गरेको हो । चाडपर्वको पूर्व सन्ध्यामा आयोजना गरिएको सो एक्स्पोले व्यवसाय विस्तारसँगै ग्राहक र अटो व्यवसायीबिचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । चाडपर्व लक्षित यस्तो प्रदर्शनीले व्यवसाय विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने जगदम्बा मोटर्सका आकाश बिक्रम थापा बताउँछन् ।

‘नेपालको सन्दर्भमा अटो एक्स्पो आफ्नो ब्रान्ड चिनाउने सबैभन्दा महत्त्वपूर्ण आधार हो’ उनले भने, ‘अहिलेसम्म हेर्दा दर्शकको उपस्थिति निकै राम्रो छ । अघिल्ला वर्षहरूका अटो एक्स्पोले झै यो वर्षको नाइमा अटो एक्स्पोले पनि ब्रान्डहरुलाई सहयोग गर्नेछ।’यस प्रदर्शनीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्ने र राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशतको योगदान पुर्‍याउने अपेक्षा आयोजकले गरेका छन् ।