लुम्बिनी प्रदेश

सिद्धबाबा सुरूङ मार्गः १८ महिनामा ५९ प्रतिशत भौतिक प्रगति


बुटवल – पहाडलाई तराईसँग जोड्ने सिद्धार्थ राजमार्गको जोखिमपूर्ण खण्ड सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरूङमार्गको काम तीव्र गतिमा भइरहेको छ । बाह्रै महिना ढुंगा/पहिरो झर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ कुहिरेभिरमा बन्दै गरेको सिद्धबाबा सुरूङमार्गको १८ महिनामा झण्डै ५९ प्रतिशत भौतिक प्रगति भएको छ । यहाँ ४ माघ २०८० बाट मुख्य सुरूङमार्ग खन्न थालिएको थियो । सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५८.८८ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत भएको छ । दुई लेनको मुख्य सुरूङमार्ग १ हजार १२६ मिटर लम्बाइको हुनेछ भने, चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहने छ । सुरूङमार्गको गएको माघ १० गते ‘ब्रेक थ्रु’ भएको थियो ।

सुरुङमार्गको मुख्य टनेलमा भुइँ भागको ढलान (इन्भर्ट) को काम सकिएको छ । मुख्य टनेलकै भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ) को काम ९३३.३ मिटर सकिएको प्रमुख इन्जिनियर अधिकारीले बताए । यस्तै बाइपासमा पनि ‘इन्भर्ट र लाइनिङ’को काम भइरहेको छ । १५१ मिटर लम्बाइको बाइपास–१ मा इन्भर्टको १४५ मिटर र लाइनिङको १२४ मिटर काम भइसकेको छ । १६१ मिटर लम्बाइको बाइपास–२ मा अहिलेसम्म इन्भर्टको काम १५७.८ मिटर भएको छ भने लाइनिङको काम सुरु भएको छैन । १३० मिटर लम्बाइको बाइपास–३ मा इन्र्भटको १२५ मिटर र लाइनिङको १०४.२ मिटर काम भइसकेको प्रमुख इन्जिनियर अधिकारीले जानकारी दिए ।

यस्तैगरी, स्लोप प्रोटेक्सनको दक्षिणतर्फ २ हजार ३०० मध्ये १ हजार ४९५, उत्तरतर्फ १ हजार १०० मध्ये ४९५, एमआरवान माउन्टेन साइड ९ हजार ६२० मध्ये ४८१, एमआरटु माउन्टेन साइट ७ हजार ४४० मध्ये १ हजार ४१४ स्क्वायर मिटर काम भएको आयोजनाले जनाएको छ । यस्तै एमआरवान रिभर साइड र एमआरटु रिभर साइडतर्फ काम सुरु भएको छैन ।

यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) ले गरिरहेको छ। यो आयोजनाको विसं २०७८ साल फागुनमा सीएससीइसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । साइड क्लियर गरेर मुख्य सुरुङ निर्माणको काम सुरू भएको डेढ वर्ष भएको छ । ठेक्का सर्तअनुसार निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् विसं २०८३ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने छ ।

यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने सर्त छ । सिद्धबाबा खण्डमा सुरुङबाहेकको सडकमा स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर विधि अपनाएर जोखिम न्यूनीकरण गर्ने विधि अपनाइने छ जुन धेरै देशमा जोखिमपूर्ण स्थानमा सफल मानिएको छ । वर्षा सकिएलगत्तै चिडियाखोला–सिद्धबाबा मन्दिर र दोभान खण्डमा यो प्रविधिको प्रयोग थालिने आयोजना कार्यालयका प्रमुख इन्जिनियर अधिकारीले बताए । ‘इन्भर्ट र लाइनिङ’को काम सकेपछि लाइटिङ सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरू गरिने छ ।’, अधिकारीले भने । त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माणको काम सुरु हुने छ ।

सुरुङमार्ग सम्पन्न भएपछि बाह्रै महिना जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुने पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । ‘सुरुङ मार्ग बनेपछि सिद्धार्थ राजमार्ग सुरक्षित र भरपर्दो सडक बन्नेछ । यो आयोजना यस क्षेत्रका लागि निकै महत्वपूर्ण छ ।’, उनले भने ।गएको एक दशकमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । बुटवल–पाल्पा सडक वि.सं.२०१८ सालदेखि खन्न सुरू भएको थियो । अहिले सरकारले बुटवल–पोखरा सिद्धार्थ राजमार्गको सबै खण्डलाई विस्तार गर्ने काम अघि बढाएको छ । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ । धेरै नागरिकको पहिरोमा परेर अकालमै ज्यान जान थालेपछि सिद्धबाबामा सुरुङमार्गको आवश्यकता महशुस भएको थियो ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको चिडियाखोला–बर्तुङ सडकखण्डको सिद्धबाबादेखि दोभान प्रहरी चौकीसम्मको दुई हजार ७०० मिटर सडकक्षेत्र उच्च जोखिमयुक्त रहेको प्रतिवेदन पेश गरेको थियो।

विशाल चट्टान तथा पहिरोयुक्त क्षेत्रमा सुरुङको आवश्यकता ठहर गर्दै निर्माण सुरु गरिएको हो । यहाँ सुरुङमार्गको आवश्यकतालाई विश्लेषण गरेर रूपन्देही क्षेत्र नम्बर २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलको पहलमा काम अगाडि बढेको हो । यो खण्डमा अहिले दैनिक २ हजार ५०० भन्दा बढी सवारीसाधन गुड्छन् । सिद्धबाबा सडक भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्वत, पोखरा, म्याग्दी, मुस्ताङसम्म सवारीसाधन चल्ने गर्छन् ।