राष्ट्र बैंकको स्वीकृति बिना नै बीमा कम्पनीहरुले भारतीय एक्चुअरीलाई भुक्तानी गर्न पाउने


काठमाडौं – नेपालका बीमा कम्पनीहरुले भारतबाट एक्चुअरी, सर्वे र भ्यालुएसन सेवा लिएवापत भुक्तानी गर्दा अब राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०८१ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले नेपाल सरकार, सो अन्तर्गतका विभिन्न निकाय, सरकारी तथा अर्धसरकारी संघ संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न प्रयोजन (जस्तैः मालवस्तु तथा सेवा आयात, लिज वा लिज पर्चेज, सदस्यता शुल्क, सेवा भुक्तानी, मर्मत, विज्ञापन, सफ्टवेयर खरिद तथा सेवा, छपाई, डेमरेज, कानुनी सेवा, परामर्श सेवा, प्राविधिक लगायतका सेवा शुल्क) को लागि प्रयोजन पुष्टि हुने आवश्यक कागजात सहित भारतीय रूपैयाँको सटही सुविधा माग गरेमा नियमानुसार लाग्ने अग्रिम कर दाखिला गरेको प्रमाण वा दाखिला गर्ने लिखित प्रतिवद्धताको आधारमा प्रचलित व्यवस्था बमोजिम भारतस्थित मृत्यु पछिको हकवालालाई भुक्तानी गर्ने प्रयोजनको लागि सटही सुविधा प्रदान गर्न सकिने बताएको छ ।

केन्द्रीय बैंकले यस्तो सटही सुविधा व्यक्ति विशेषको नाममा पठाउनु परेमा यस विभागको स्वीकृति अनिवार्य रूपमा लिएको हुनुपर्ने बताएको छ । ‘नेपाली बीमा कम्पनीहरुले विशेषज्ञ सेवा (जस्तैः एक्चुअरी, सर्वे र भ्यालुएसन आदि) का लागि प्राकृतिक व्यक्तिलाई गर्नु पर्ने भुक्तानीको सटही सुविधाको लागि नेपाल बीमा प्राधिकरणको सिफारिस समेतको आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्नेछन् ।’ संशोधित निर्देशनमा भनिएको छ ।