काठमाडौं – सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्नो भागको बिगो बापतकाे पाैने ३ कराेड रूपैयाँकाे बैंक ग्यारेन्टी पनि बुझाएका छन्। बिगो बमोजिमको धरौटी माग गरी थुना बाहिर राख्न माग गर्दै उनले ३ दिन पहिले निवेदन दिँदा अदालतमा आफ्नो भागको बिगो बापतको बैंक ग्यारेन्टी पनि पेस गरेको खुलेको हो।
सभापति लामिछानेले बिगो बमोजिम २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी समेत पेस गरेको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले बैंकिङ्ग समाचारलाई जानकारी दिए । ‘निवेदनसँगै बैंक ग्यारेन्टी राखिएको खाम पनि पेस भएको छ। उहाँले आफ्नो जिम्माको जति रकम त्यति भनेर पेस गर्नुभएको छ। कुन बैंक पनि यकिन छैन। यस विषयमा इजलासले सुनुवाइ गरी निर्णय गर्नेछ,’ अर्यालले भने ।
रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा उनीसहितका प्रतिवादीहरूलाई एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरिएको छ। त्यसमध्ये आफ्नो भागमा पर्ने सम्पूर्ण बिगो बराबरको रकम बैंक जमानत राखेर आफूलाई रिहा गर्न उनले माग गरेका छन् । २०८१ चैत २५ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेको थियो।






About Us
प्रतिक्रिया