कारागारमा रविको अवस्था पञ्चायतकालको भन्दा पनि खराब छः बाबुराम भट्टराई


काठमाडौं – रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भेटेका छन् । 

आज बिहीबार रुपन्देही जिल्ला कारागार (भैरहवा) पुगेर लामिछानेसँग भेट गरेपछि भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै उनलाई कारागारबाहिर रहेर मुद्दा लड्ने सुविधा दिनुपर्ने धारणा राखेका हुन्। साथै, उनले कारागारमा रविको अवस्था पञ्चायतकलाको भन्दा पनि खराब रहेको टिप्पणी पनि गरे। 

‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन। न्यायिक हिरासतमा हुनुहुन्छ। कोही मान्छे भाग्छ, थप अपराध गर्छ भन्ने लाग्दाखेरि न्यायिक हिरासतमा राख्ने हो’, उनले भने, ‘तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन। त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो।’

पार्टीको  लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले आज बिहान जेल पुगेर पूर्वगृहमन्त्री लामिछानेलाई भेटेका हुन्।