धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठ र लगानीकर्ताबीच भेटवार्ता, आइजिन नम्बर विवादका विषयमा छलफल


काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र विभिन्न लगानीकर्ता संघ–संगठनका पदाधिकारीहरूबीच आज धितोपत्र बोर्डको कार्यालयमा एक महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफलमा शेयर बजारमा धितोपत्र बोर्डको भूमिका तथा बजारको वर्तमान अवस्थाका विविध पक्षमा विस्तृत विमर्श भएको थियो।

बैठकमा हाल बजारको सबैभन्दा जल्दोबल्दो विषयको रूपमा रहेको अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आइजिन) विवादबारे गम्भीर छलफल भएको थियो। यस सम्बन्धमा सिडिएससीले तयार गरी पठाएको निर्देशिकालाई अविलम्ब लागू गर्न सम्पूर्ण लगानीकर्ता संघका प्रतिनिधिहरूले एकीकृत धारणा राखेका थिए। समग्र बजारको सुदृढीकरण र पारदर्शिताका लागि साधारण र संस्थागत तथा अन्य प्रकारका शेयरका लागि अलग–अलग आइजिन हुनु अपरिहार्य रहेको कुरामा जोड दिइएको थियो।

छलफलका क्रममा १५ मिनेटको भारित औसत मूल्य गणनामा देखिएको प्राविधिक समस्या र त्यसले बजारमा पारेको नकारात्मक असरबारे पनि विमर्श भएको थियो। उक्त समस्या समाधानका लागि तत्काल कदम चाल्न र यसमा सम्बन्धित सबै पक्षले सहकार्य गर्न विशेष जोड दिइएको छ।

यसका साथै, बजारलाई प्रभावित पार्ने उद्देश्यले विभिन्न पक्षबाट हुने हरेक गतिविधिमाथि धितोपत्र बोर्डले गम्भीरतापूर्वक निगरानी गरी तत्काल कारबाही गर्न पनि लगानीकर्ताका प्रतिनिधिहरूले अनुरोध गरेका छन्। उक्त छलफलमा नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र महासचिव सुरज खड्का, जनरल इन्भेस्टर एसोसिएसनका अध्यक्ष दीपक कार्की, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतु जंग जी.सी.नेपाली धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे, नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिवरविन कँडेल तथा स्वतन्त्र विज्ञ हरिबहादुर के.सीको सहभागिता रहेको थियो।