यी हुन् नेप्सेमा सबैभन्दा बढी मूल्य भएका १० कम्पनी


काठमाडौं – हाल नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत २७० भन्दा बढी कम्पनीहरू रहेका छन् । जसमध्ये अधिकांश हिस्सा ‘हाइड्रोपावर’ कम्पनीहरू छन् । यसपछि क्रमशः लघुवित्त, बैंकिङ्ग समूह, बीमा, उत्पादनमूलक तथा प्रशोधन केन्द्रित कम्पनी छन् । नेप्सेमा सूचीकृत ती कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य भएका उत्कृष्ट १० कम्पनीको सूची तयार पारिएको छ । जसमा प्रतिकित्ता २ हजार रुपैयाँदेखि माथि र झन्डै ५० हजार रुपैयाँ प्रतिकित्तासम्म रहेको नेप्सेले जनाएको छ ।

जसमा युनिलिभर नेपाल लिमिटेड, बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) रहेका छन् । त्यस्तै, बीमा क्षेत्रका कम्पनीहरू राष्ट्रिय बीमा कम्पनी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापकतर्फको शेयर मूल्य समेत उच्च छ ।त्यसैगरी, लघुवित्ततर्फ आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समेत उत्कृष्ट १० भित्र छ । यससँगै व्यापार समूहतर्फका विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको मूल्य समेत उच्च रहेको नेप्से जनाउँछ ।

यी हुन् सबैभन्दा धेरै मूल्य भएका १० कम्पनी

नेप्सेमा सूचीकृत भई कारोबारमा रहेका २७० वटाभन्दा बढी कम्पनीमध्ये युनिलिभर नेपालको शेयर मूल्य सबैभन्दा उच्च छ । नेप्सेका अनुसार यो कम्पनीको शेयर मूल्य ४९ हजार हाराहारी छ । यो नेप्सेमा सूचीकृत सबै कम्पनीको शेयर मूल्यभन्दा बढी हो। अन्य कम्पनीको शेयर मूल्य यसको आधा मूल्यको हाराहारी समेत छैन ।

यसपछि, बोटलर्स नेपाल (बालाजु) को शेयर मूल्य प्रतिकित्ता १६ हजार ६ सय ६६ रुपैयाँ छ भने बोटलर्स नेपाल (तराई) १२ हजार ७ सय २० रुपैयाँ कायम छ । यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको मूल्य प्रतिकित्ता १६ हजार रुपैयाँभन्दा बढी छ भने यही कम्पनीको संस्थापक शेयर मूल्य १३ हजार रुपैयाँभन्दा बढी छ ।

यसपछि व्यापार समूहतर्फको विशाल बजार कम्पनी (बीबीसी)को मूल्य प्रतिकित्ता ५ हजार ४ सय रुपैयाँभन्दा बढी कायम छ । यसपछि लघुवित्त समूहमा रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर प्रतिकित्ता ५ हजार ८ सय रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ ।

यसपछि, नेपालमा नुन व्यापारमा एकाधिकार पाएको साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)को शेयर मूल्य ५ हजार ५ सय रुपैयाँ छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयर प्रतिकित्ता ३ हजार ५ सय रुपैयाँभन्दा बढी छ । यसैगरी, समाज लघुवित्त वित्तीय संस्थाको मूल्य प्रतिकित्ता २ हजार ४ सय रुपैयाँ कायम छ ।

नेप्सेको तथ्यांकअनुसार सबैभन्दा धेरै मूल्य भएको १० कम्पनीको सूचीमा उत्पादनमूलक कम्पनीको सूची ३ रहेको छ । यस्तै, व्यापार समूहका २ वटा कम्पनी, लघुवित्त समूहका ३ वटा कम्पनी र बीमा समूहको सर्वसाधारण र संस्थापक गरी एक कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै छ ।

कुन कम्पनीको वित्तीय विवरण कस्तो ?

नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरूमध्येको यी दश कम्पनीहरूको वित्तीय विवरण हेर्दा अन्य कम्पनीको तुलनामा उत्कृष्ट देखिन्छ । जसको शेयर मूल्य, सूचीकृत शेयर सङ्ख्या, बजार पुँजीकरण जस्ता तथ्याङहरुले २७० कम्पनीहरू मध्ये ती कम्पनीलाई ‘ब्लुचिप’कारुपमा उभ्याउँछ । यस्तो छ तीनै १० कम्पनीको वित्तीय विवरण ।

युनिलिभर नेपाल लिमिटेड

नेप्सेमा यो कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता शेयर सूचिकृत छ । जसको कुल चुक्ता पुँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । यससँगै यस कम्पनीको बजार पुँजीकरण ४४ अर्ब ६० करोड ७९ लाख १५ हजार रुपैयाँ छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट गत आर्थिक वर्षमा आफ्ना शेयरधनीलाई प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

बोटलर्स नेपाल (बालाजु)

नेप्सेमा १९ लाख ४८ हजार ८ सय ८७ कित्ता शेयर सूचीकृत रहेको यो कम्पनीको कुल चुक्ता पुँजी १९ करोड ४८ लाख ८८ हजार ७०० रुपैयाँ छ । यससँगै कम्पनीको मार्केट क्यापिटलाइजेसन ३२ अर्ब ४८ करोड रुपैयाँ छ । यो कम्पनीले समेत गत वर्ष आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल दिँदै आएको छ । यद्यपि, पछिल्लो समय भने लाभांश घोषणा गरेको छैन ।

बोटलर्स नेपाल (तराई)

नेप्सेमा १२ लाख १० हजार कित्ता शेयर सूचीकृत रहेको यो कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको बजार पुँजीकरण भने १५ अर्ब ४२ करोड ७५ हजार रुपैयाँ रहेको छ । सो कम्पनीले २०८०/८१ सम्ममा आफ्ना लगानीकर्ताहरूलाई ५० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड

नेप्सेमा कुल २६ लाख ६६ हजार ३ सय ६५  कित्ता शेयर रहेको यो कम्पनीको कुल चुक्ता पुँजी २६ करोड ६६ लाख ३६ हजार ५ सय रुपैयाँ छ । यस कम्पनीको ‘मार्केट क्यापिटलाइजेसन’ भने ४४ अर्ब २५ करोड ९३ लाख ९२ हजार रुपैयाँ छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड (प्रमोटर्स)

कम्पनीको नेप्सेमा कुल सूचीकृत शेयर १७ लाख ७६ हजार २ सय ९६ सय कित्ता रहेको छ भने चुक्ता पुँजी १७ करोड ७६ लाख २९ हजार ६०० रुपैयाँ छ । यसको मार्केट क्यापिटलाइजेसन २३ अर्ब ५८ करोड १८ लाख ७४ हजार ७ सय ७७ रुपैयाँ रहेपनि कम्पनीले लगानीकर्तालाई लाभांश वितरण भने गर्ने गरेको छैन ।

विशाल बजार कम्पनी

नेप्सेमा कूल ४ करोड १ लाख कित्ता शेयर सूचीकृत रहेको यो कम्पनीको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ छ । जसको मार्केट क्यापिटलाइजेसन २ खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था

नेप्सेमा कुल ७ लाख ८३ हजार ४ सय ३३ कित्ता शेयर सूचीकृत रहेको यो कम्पनीको चुक्ता पुँजी ७ करोड ८३ लाख ४३ हजार रुपैयाँ छ । ४ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ ‘मार्केट क्यापिटलाइजेसन’ रहेको यो कम्पनीले २०८०/८१ मा १५ प्रतिशत लाभांश दिएको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड

नेप्सेमा कुल ३२ लाख ७ हजार १ सय ७१ कित्ता शेयर सूचीकृत रहेको यो कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख १७ हजार १ सय रुपैयाँ छ । यस कम्पनीको मार्केट क्यापिटलाइजेसन भने १७ अर्ब ६४ करोड २७ लाख ४ हजार रुपैयाँ कायम छ । यस कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा आफ्ना लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उपकार लघुवित्त वित्तीय संस्था

नेप्सेमा १० लाख ६१ हजार ४ सय ८२ कित्ता शेयर सूचीकृत रहेको यो कम्पनीको चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार २ सय रुपैयाँ रहेको छ । ३ अर्ब ७९ करोड रुपैयाँ बजार पुँजीकरण रहेको यो कम्पनीले २०८०/८१ मा ६५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

समाज लघुवित्त वित्तीय संस्था नेप्सेमा २२ लाख ८ हजार ५ सय कित्ता शेयर सूचीकृत रहेको यो कम्पनीको चुक्ता पुँजी २२ करोड ८ लाख ५० हजार रुपैयाँ छ । यस्तै, ५४ करोड २० लाख ९१ हजार रुपैयाँ बजार पुँजीकरण रहेको यो कम्पनीले २०८० मा १५ प्रतिशत लाभांश दिएको थियो ।