सीआइबी कार्यालय निरीक्षण गर्दै गृहमन्त्री लेखकले भने,‘ निर्मला पन्त प्रकरणमा नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्नुस्’


काठमाडौं– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई निर्देशन दिएका छन् । आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रूपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्युरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिए । निरीक्षण पश्चात् आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सीमित स्रोतसाधनको बाबजुद केन्द्रीय अनुसन्धान ब्युरोले निर्वाह गरेको महत्त्वपूर्ण कार्यहरू प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा ब्युरोलाई थप प्रभावशाली, क्रियाशील एवम् प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

नयाँ प्रहरी युनिटहरूको माग दिनानुदिन बढिरहेको र यसले प्रहरी प्रति जनताको धारणा सकारात्मक रहेको चर्चा गर्दै जनताको धारणा कायम राख्न सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिक भएर कार्यसम्पादन गर्नुपर्ने उनले बताए । बस्तुनिष्ठ एवम् प्रमाणमुखी अनुसन्धानमा केन्द्रित रहेर पूर्ण इमानदारिता एवम् लगनशीलताका साथ कार्य गर्न उनले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिए। 

गृहमन्त्री लेखकले उपलब्ध सीमित प्रविधि र कानुनी जटिलताका कारण घेरै अपराधहरूको अनुसन्धानमा बाधा पुगेको उल्लेख गर्दै देखिएका कानुनी जटिलता समाधान गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको विकास एवम् ब्युरोलाई स्रोतसाधन सम्पन्न बनाउन मन्त्रालय सदैव कटिबद्ध रहेको बताए । पुराना मुद्दाहरूको अनुसन्धानमा समेत थप सक्रिय हुन उनले उपस्थित प्रहरी अधिकृतहरूलाई आग्रह गरे । 

कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै जटिल र गहन प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी बोकेको ब्युरोले सीमित स्रोतसाधनका बाबजुद पनि प्रभावकारी रूपमा जिम्मेवारी वहन गर्दै आइरहेको बताए । ब्युरोलाई भौतिक पूर्वाधारको साथसाथै आधुनिक प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा जोड दिँदै अपराध अनुसन्धानमा देखिएका जटिलताहरूको सामना गर्दै थप प्रभावकारी एवम् प्रमाणमुखी अनुसन्धानमा ब्युरो सदैव प्रतिबद्ध रहेको उनले बताए । 

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले केन्द्रीय अनुसन्धान ब्युरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, ब्युरोबाट गरिएका कार्यहरू, समस्या एवम् चुनौती लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।