बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडक विस्तारका लागि चौथो पटक म्याद थपिएको छ । निमार्ण कम्पनीले सम्झौता अनुसार काम नसकेपछि फेरि एक वर्ष म्याद थप गरिएको हो । पूर्वी खण्डको म्याद आगामी २०८३ साउन ७ र पश्चिम खण्डको म्याद २०८३ साउन ५ गतेसम्म थपिएको सडक विस्तार आयोजनाका निर्देशक इन्जिनियर चुडाराज ढकालले जानकारी दिए । चौथो पटक म्याद थपिए पनि सडक निर्माणको लागत रकम भने नबढ्ने उनले बताए ।
यो सडक विस्तारका लागि तेस्रो पटक थपिएको म्याद २०८२ साउन ८ गतेसम्म थियो । बुटवल–नारायणगढ सडक खण्डलाई दाइउन्नेदेखि पूर्व गैँडाकोटसम्म (६५ किलोमिटर) क्षेत्रलाई पूर्वी खण्ड र दाइउन्नेदेखि पश्चिम बुटवलसम्म (४९ किलोमिटर) सडक क्षेत्रलाई पश्चिम खण्ड तोकेर विस्तारको काम भइरहेको छ । सडक विस्तारको काम अहिलेसम्म ७० प्रतिशत हाराहारी मात्रै पुगेको बुटवल– नारायणगढ सडक आयोजनाले जनाएको छ ।
बुटवल–नारायणगढ कूल ११४ किलोमिटर सडक विस्तारका लागि विभागले २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनसँग १७ अर्ब लागतमा ठेक्का सम्झौता गरेको थियो । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो । सुरुको सम्झौता अनुसार २०७९ साउन २२ गते काम सम्पन्न गर्नुपर्ने थियो ।
निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै पटक पटक ठेक्का सम्झौताको म्याद थप गर्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन । सुरुमा कोभिडका कारण काम प्रभावित भएको भन्दै म्याद थप्ने काम भयो । त्यसपछि पनि निर्माण कम्पनीले कामलाई गति दिएन । निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै दोस्रो र तेस्रो पटक एक-एक वर्ष म्याद थप्दासमेत राजमार्ग विस्तारको काम नसकिएका कारण फेरि चौथो पटक एक वर्षका लागि थप्नुपरेको हो ।
चिनियाँ ठेकेदार कम्पनी र कन्सल्ट्यान्टले २०८३ माघसम्मको समय मागेका थिए । आयोजना कार्यालयले २०८३ साउनभित्र काम सक्ने सर्तमा एक वर्ष म्याद थपेको हो । निर्माण कम्पनीले अब एक वर्षमा बाँकी काम पूरा गर्नुपर्नेछ । कम्पनीले काम सम्पन्न गर्ने प्रतिबद्धतासहित कार्य योजना पेस गरेको छ । निर्माण कम्पनीले आगामी चैत वैशाखसम्ममा कालोपत्रे गरिसक्ने योजना बनाएको छ । त्यसपछि अन्य काम गर्ने भनिएको छ ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार आयोजनाको गैँडाकोटदेखि दाउन्नेसम्मको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार छ । दाउन्नेदेखि पश्चिम बुटवलसम्मको लागत ७ अर्ब ८६ करोड ३४ लाख छ । कुल ११४ किलोमिटर सडकमध्ये २९ किलोमिटर क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ । बुटवल–नारायणगढ क्षेत्रमा पर्ने ७० किलोमिटर सडक बजार क्षेत्रमा ६ लेनको निर्माण हुने पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए। दाउन्नेको करिब १४ किलोमिटर क्षेत्रमा तीन लेन बनाउने गरी सडक स्तरोन्नतिको काम भइरहेको छ । दाउन्नेको सडक १३ मिटर फराकिलो हुनेछ । यस्तै ६४ वटा पुल, ४७४ वटा कल्भर्ट, १०६.१७ किलोमिटर क्षेत्रमा नाली निर्माण हुनेछ ।
राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । निर्माण कम्पनीले अहिले दाउन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ । अहिले सबैभन्दा धेरै समस्या दाउन्ने क्षेत्रमै छ । दसैँअगाडि दाउन्ने क्षेत्रमा कम्तीमा एकतर्फी कालोपत्रे सक्ने ठेकेदार कम्पनीको योजना छ । अहिले कामले केही गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको भए पनि दाउन्ने खण्डमा समस्या यथावत् रहेको छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदासमेत सडक चिप्लो भएर घण्टौँसम्म जाममा पर्नुपर्ने बाध्यता कायम छ । यो सडक बनेपछि बुटवल–नारायणगढ सडकको यात्रा डेढ घण्टामा छोटिने छ ।
चीनको सरकारी स्वामित्वमा रहेको चाइना स्टेट कम्पनीले नारायणगढ–बुटवल सडक खण्डबाहेक नेपालमा अन्य आयोजनामा पनि काम गरिरहेको छ । पछिल्लो समय सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको काम पनि धमाधम भइरहेको छ ।





About Us
प्रतिक्रिया