काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विदेशबाट फर्किएका नेपालीहरूलाई अब केवल रेमिटर नभई राष्ट्रका लगानीकर्ता, सीपका संवाहक र समृद्धिका सारथीको रूपमा परिभाषित गर्नुपर्ने बताए । रिटर्नी फेडेरेसन नेपालद्वारा काठ्माण्डौँमा आयोजित ‘नवयुग उद्यमशाला’मा बोल्दै मन्त्री भण्डारीले विदेशमा आर्जन गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको माटोसँग जोड्ने अभियानको स्वागत गरे ।
उनले भने, ‘नेपाल अब केवल विप्रेषणमा भर पर्ने अवस्थामा छैन । तपाईंहरूजस्ता रिटर्नी उद्यमीहरूको अन्तर्राष्ट्रिय अनुभव र लगानीलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा ल्याउनु हाम्रो प्राथमिकता हो ।’ उनले दुई ठुला दलको सहकार्यमा बनेको वर्तमान सरकारले विकास निर्माणका अधिकांश कामहरु सु–सम्पन्न गरिरहेको भएपनि केही कानुनी झण्जट अझै कायम रहेको बताए ।
उनले भने, ‘सरकार निर्यात सहजीकरणमा लागिरहेको छ, तर केही समस्याहरु अवश्य छन् । प्रधानमन्त्री ज्यूको चीन भ्रमणका बखत धेरै बस्तुहरु निर्यातको सम्झौता भएको छ, तर ती सबै बस्तु चीनको प्रयोगसालाको मापदण्ड अनुसार गुणस्तरीय हुनुपर्ने हुन्छ त्यसैगरी भारत निर्यात हुने सामग्रीमा बिआइएस अनिवार्य हुन्छ, हामीलेपनि नेपाल आयात हुने सामग्रीहरुमा नेपाल गुणस्तर अनिवार्य गर्न खोजेका छौँ ।’
उनले ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ लाई रिटर्नीहरूको सामूहिक लगानीको सफल उदाहरण बताउँदै, यसले साना व्यक्तिगत जोखिमलाई कम गर्दै ठूलो व्यवसायिक सम्भावनाको ढोका खोल्ने बताए । सरकारले उद्यमीहरुका लागि स्टार्टअप लगायतका केही आर्कषक कार्यक्रम ल्याएको उल्लेख गरे ।
नेपालको अर्थतन्त्र पुनरुत्थानको चरणमा रहेको उल्लेख गर्दै उनेले भने, ‘हाम्रो प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १४९६ अमेरिकी डलर पुग्नुले हाम्रो आर्थिक यात्रा सहि दिसामा रहेको संकेत गर्छ, आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहेको छ । अब यो स्थितिलाई थप सबल बनाउन रिटर्नीहरूको लगानी अपरिहार्य छ ।’
कार्यक्रममा उनले सरकार उद्यममैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको, लगानी सुरक्षाको ग्यारेन्टी दिने र नीति तथा कानुनहरूमा आवश्यक सुधार गरिने प्रतिबद्धता पनि व्यक्त गरे । मन्त्री भण्डारीले रिटर्नीहरूको ज्ञान, सीप, पूँजी र जाँगरलाई समृद्ध नेपालको दिगो आधार बनाउने सन्देश दिँदै कार्यशालाको सफलताको शुभकामना व्यक्त गरे ।






About Us
प्रतिक्रिया