काठमाडौं – गत आर्थिक वर्षको वित्तीय विवरण सुधार्न नेपाल राष्ट्र बैंकले दिएको ‘रिकभरी’को समय सकिएको छ । राष्ट्र बैंकले साउन १५ गतेसम्मको ‘रिकभरी’को तथ्यांक ‘ब्यालेन्ससिट’मा राख्न पाउनेगरी १५ दिनको ‘रिकभरी डेट’ दिएको थियो । साउन १५ सकिएसँगै केन्द्रीय बैंकले दिएको समय सकिएको हो ।
बैंकहरुले साउन १५ गतेसम्म उठेको रकमलाई गत आर्थिक वर्षको वित्तीय विवरणमा देखाउन पाउँछन् । यो व्यवस्थाबाट बैंकहरुको विवरण सुधारिने नेपाल राष्ट्र बैंकको आँकलन छ । यहीलक्ष्यसहित गभर्नर डा. विश्वनाथ पौडेलले बैंकहरुलाई लगानी भएको ऋणको सावा ब्याज उठाउन १५ दिन दिएका थिए ।
यो समय साउन १५ सँगै सकिएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन् । ‘रिकभरीको समय सकिएको छ । साउन १५ सम्म उठेको ऋण लगानी विवरणमा राख्न मिल्छ,’ उनले भने, ‘यसबाट धेरै सुधार नभएपनि विवरणमा सकरात्मक प्रभाव पर्छ नै ।’
राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि लागू हुनेगरी बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्नका लागि १५ दिन र अरू त्रैमासिक रिपोर्टका लागि ८ दिन समय बढाएको थियो । ‘सर्कुलर’ नै जारी गरेर चौथो त्रैमासको वित्तीय विवरण एक महिनाभित्र प्रकाशित गरे हुने व्यवस्था गरेको हो । पहिला वर्ष सकिएको १५ दिनभित्र चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।
यसबाहेक, अन्य त्रैमासको वित्तीय विवरण १५ दिनभित्र सार्वजनिक गर्न सक्ने व्यवस्था गरेको छ । पहिला यस्तो समय ७ दिन थियो । यससँगै, बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरूको अन्तरिम वित्तीय प्रतिवेदन यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रैमासको महिना व्यतीत भएको मितिले १५ दिनभित्र प्रकाशित गर्नुपर्ने व्यवस्था नै छ । सोहिकारण पनि बैंकहरुले साउन १५ देखि अघिल्लो वर्षको रिकभरि सकेका हुन् ।






About Us
प्रतिक्रिया