काठमाडौं – कर्णाली विकास बैंक समस्यामा देखिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप लिन र कर्जा दिन रोक लगाएको थियो। राष्ट्र बैंकले नेपालगन्जमा रहेको यस विकास बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि निक्षेप लिन र कर्जा दिन रोक लगाएको थियो ।
तर, बैंकले राष्ट्र बैंकको रोक आदेशलाई अवज्ञा गर्दै कर्णाली डेभलपमेन्ट बैंकले थप निक्षेप सङ्कलन गरी करोडौं रुपैयाँ अपचलन गरेको खुल्न आएको छ । राष्ट्र बैंकले २०८१ साल मङ्सिर ११ गतेको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप सङ्कलन गर्न, नयाँ निक्षेप खाता खोल्न तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको थियो।
तर, सो निर्णयलाई उल्लङ्घन गर्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत नीरज बिक्रम शाहले मङ्सिर १३ गते सबै शाखा कार्यालयहरूलाई परिपत्र जारी गरी ‘कर्जा प्रवाह बाहेक नियमित बैंकिङ्ग काम कारबाही तथा कर्जा असुली कार्य नियमित रहेको हुँदा निर्धक्कसँग बैंकिङ्ग कारोबार गर्नु’ भनी निर्देशन दिएका थिए।
सो परिपत्रपछि बैंकका विभिन्न शाखाबाट ३५२ वटा नयाँ निक्षेप खाता खोलिएका र करिब १४ करोड ५७ लाख १८ हजार ९६२ रुपैयाँ ३० पैसा बराबरको निक्षेप सङ्कलन गरिएको पाइएको छ। सङ्कलित रकम समेत अपचलनमा परेको देखिएको छ। राष्ट्र बैंकको प्रतिबन्धलाई समेत मानेर नबसी भएका यस्ता गतिविधिले सर्वसाधारण निक्षेपकर्ताको हित गम्भीर रूपमा जोखिममा पारेको भन्दै अनुसन्धान जारी रहेको छ।






About Us
प्रतिक्रिया