काठमाडौं – कर्णाली विकास बैंकको घोटाला प्रकरणमा ४ जना प्रमुख कार्यकारी अधिकृत संलग्न रहेको खुल्न आएको छ । यस प्रकरणमा मुख्य योजनाकार समेत रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय भने पक्राउ परिसकेका छन् । भने बाँकी ३ जना फरार रहेका छन् ।
बैंकको स्थापना कालमा राय बैंकको कार्यकारी अधिकृत पदमा रहेका थिए भने त्यस पछि बैंक प्रमुख कार्यकारी अधिकृत पदमा दिनेश कुमार रावत, विष्णु प्रसाद कक्षपती र निरज विक्रम शाह रहेका थिए । रायलाई यस प्रकरणमा २ अर्ब ६३ करोड रुपैयाँको बिगो माग गरिएको छ । उनी यस बैंकमा २०५९ देखि २०८० सालसम्म अध्यक्ष भएका थिए । बैंकमा उनको १४.९८ प्रतिशत संस्थापक शेयर छ ।
उनकी श्रीमती तारा गुरुङको नाममा सुनौला इन्भेष्टमेन्टमा ७.७ प्रतिशत शेयर रहेको छ । राय १८ वटा कम्पनीमा सञ्चालक रहेका छन् । यस बैंकमा विभाग प्रमुख र सीईओ भएर काम गरेका बैंकका तत्कालीन सीईओ रावतलाई १ अर्ब ६२ करोड को बिगो माग गरिएको छ ।
त्यस्तै, २०६६ सालमा एकाउन्टेन्टका रूपमा बैंकमा प्रवेश गरेका तत्कालीन सीईओ निरजविक्रम शाह २०८१ पुससम्म बैंकमा कार्यरत रहेका थिए । उनलाई यस प्रकरणमा १ अर्ब २९ करोड बिगो माग गरिएको छ । उनले कर्णाली बैंकको रकम अपचलन गरेर आफ्नो निजी कम्पनीको सञ्चालक बनेर काम समेत गरेका छन् । यसैगरी २०६६ सालमा प्रबन्धक भएका विष्णुप्रसाद कक्षपति यस बैंक संस्थापक सेयर धनी समेत हुन् । उनी यस बैंकमा २०७० सालमा निमित कार्यकारी निर्देशकका रूपमा रहेका थिए । उनलाई १ करोड ३२ लाख बिगो माग गरिएको छ ।
उच्च अदालतमा दर्ता भएको अभियोगपत्रमा घोटालामा विभिन्न किसिमका एक दर्जनभन्दा बढी कारणहरू देखिएका छन् । अन्य बैंकहरुबाट रकम ल्याइ बैंकमा दाखिला नगरी अविचलन गरिएको रकम १ अर्ब ११ करोड ९१ लाख रहेको छ । साथै, अन्य बैंकमा जम्मा गर्न पठाइएको तर ,बैंकमा दाखिला नगरेको रकम १५ करोड ३० लाख रहेको छ । १ करोड अन्तर शाखा कारोबारमा अपचलन भएको छ । यसैगरी रेमिट कारोबारमा १ करोड ७८ लाख अपचलन भएको छ । गोल्ड लोन दिएको देखाई, तलब वृद्धि गर्दा, जीवन बीमाको नाममा१ करोड ९६ लाख रुपैयाँ अपचलन रहेको छ ।






About Us
प्रतिक्रिया