मौद्रिक नीतिको प्रभाव घटेको साताको शेयरः नेप्से ६० अंकले घट्दा ९३ अर्ब आसपासमा कारोबार  


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि दुई साता लगातार बढेको शेयर बजार यो साता भने दोहोरो अंकले घटेको छ । साताको पाँच कारोबारको ३ दिन शेयर बजार घटेको छ भने २ दिन मात्र बजार बढ्यो । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साता समग्रमा ६० अंकले घटेको छ । यससँगै कारोबार रकम ९३ अर्ब आसपास पुगेर बजार बन्द भएको हो । 

साताको पहिलो कारोबार दिनमै (आइतबार)  शेयर बजारमा १८ दशमलव ४४ अंकको गिरावट देखिएको छ । यससँगै बजार २९ सय ६४ दशमलव २० को बिन्दुमा रोकिएको थियो । सोदिन कारोबार २५ अर्ब माथिको कारोबार भयो । जुन साताभरिकै उच्च कारोबार हो । 

साताको दोस्रो कारोबारको दिन (सोमबार) भने नेप्सेमा झिनो अंकको वृद्धि देखियो । सोदिन नेप्सेमा ७ दशमलव १० अंकको वृद्धि देखियो । यससँगै बजार २९ सय ७१ दशमलव ३१ को बिन्दुमा रोकियो । त्यसदिन कारोबार रकम १८ अर्ब माथि पुग्यो । त्यसैगरी तेस्रो कारोबारको दिन (मंगलबार) बजार पुनः उकालो लागेको थियो । त्यसदिन नेप्सेमा ३० दशमलव ७६ अंकको वृद्धि देखिएसँगै१८ अब २४ करोड रुपैयाँको कारोबार भयो ।

त्यस्तै, साताको चौथो कारोबारको दिन (बुधबार)  शेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । सो दिन बजार २९ सय ५४ दशमलव १४ को बिन्दुमा बजार बन्द हुँदा १६ अर्ब १८ करोड रुपैयाँको कारोबार भयो । साताको अन्तिम कारोबारको दिन (बिहीबार) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । सोदिन ३१ दशमलव ५० अंकको वृद्धि आएको थियो । योसँगै, १५ अर्ब ३६ करोडको आसपास कारोबार भएको थियो । त्यसदिन बजार २९ सय ६७ दशमलव ३ को बिन्दुमा बन्द भएको हो ।