भैरहवाको मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ, बचतकर्ताको झण्डै ६ करोड हिनामिनाको आरोप


बुटवल – भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक के.सी. पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर–५ मैत्रीपथमा रहेको उक्त सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले अध्यक्ष के.सीलाई पक्राउ गरेको हो ।

बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर–६ स्थायी घर भएका ३४ वर्षीय के.सी.लाई बुधबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।

उनका अनुसार सहकारीका अध्यक्ष के.सी. गत बैशाख २० गतेदेखि फरार भएका थिए । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर–३ गठ्ठाघरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले बताए । पक्राउ परेका के.सी.लाई भैरहवा ल्याएर जिल्ला अदालत रुपन्देहीमा पेश गरीएको प्रहरीले जनाएको छ ।