बुटवल – पछिल्लो समय लुम्बिनी प्रदेशको पर्यटकीय केन्द्रका रूपमा विकास भइरहेको मणिमुकुन्द सेन उद्यान (बुटवल फूलबारी) पर्यटकको रोजाइमा पर्ने गरेको छ । ऐतिहासिक, पुरातात्त्विक, धार्मिक तथा पर्या पर्यटनको हिसाबबाट समेत निकै महत्त्व बोकेको उद्यानमा विभिन्न बोटबिरुवाको हरियाली, ऐतिहासिक सामग्री, वन्यजन्तुको संरक्षण र रङ्गीचङ्गी फूलका बाटिकाहरूले त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्छन् ।
चुरे पहाडको काखमा रहेको यो उद्यान बुटवल बजारको उखरमाउलो गर्मी छल्ने उपयुक्त विकल्प बनेको छ । दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने यस क्षेत्रमा आन्तरिकसँगै भारतीय पर्यटकहरू पनि उल्लेख्य रूपमा आउने गरेका छन् । मणिमुकुन्द सेन उद्यानमा एक वर्षमा अवलोकनका लागि झन्डै साढे ५ लाख पर्यटक पुगेका छन् ।
उद्यानका महासचिव युवराज घिमिरेका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक र बाह्य गरी ५ लाख ४७ हजार १९९ जना पर्यटकले घुमेका हुन् । जसमध्ये ७४ हजार ५९२ जना भारतीय पर्यटक र ७१ हजार ६९५ जना विद्यार्थी रहेका छन् । यसबाट उद्यानले ४ करोड ६ लाख ४२ हजार रुपैयाँ आम्दानी समेत गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा उद्यानमा ५ लाख पर्यटक पुग्दा ३ करोड ७३ लाख रुपैयाँ आम्दानी भएको भएको थियो ।
सेन वंशीय पाल्पाली राजा मणिमुकुन्द सेनको नाममा रहेको यो उद्यान पछिल्लो समय पिकनिक, विवाह, भेटघाट, सामाजिक सङ्घसंस्था विभिन्न कार्यक्रमको थलो बन्दै गएको छ । ‘फूलबारी’ नाम राखेर विसं २०३६ सालमा स्थापित यो पार्कलाई २०५४ सालमा ‘मणिमुकुन्द सेन उद्यान’ नामकरण गरी सञ्चालन र व्यवस्थापन गरिँदै आएको उद्यानका अध्यक्ष माधव नेपालले जानकारी दिए ।
पछिल्लो समय उद्यानमा भारतीय पर्यटक तथा अध्ययन अवलोकन गर्न आउने विद्यार्थीको संख्या बढ्दै गएको उनले बताए । ‘यहाँ आउने विद्यार्थीमध्ये केही आफ्नो उच्च शिक्षा अध्ययनका क्रममा उद्यानसम्बन्धी शोधपत्र तयार गर्नका लागि पनि यहाँ आउने गर्नुहुन्छ ।’, अध्यक्ष नेपालले भने । मणिमुकुन्द सेन उद्यान फूलबारी मात्र नभई पुरातात्त्विक सम्पदा भएकाले यसलाई राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गराउन सबै क्षेत्रबाट पहल हुनुपर्ने उनले बताए ।
सेनवंशीय भग्नावशेष दरबार संरक्षणसँगै सङ्ग्रहालय निर्माण गर्न चालु आर्थिक वर्षका लागि संघीय सरकारबाट ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसैगरी उद्यानलाई सांस्कृतिक केन्द्र, रिसर्च सेन्टर तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने स्पष्ट खाका तयार गरिएकाले सो कार्यान्वयन भए थप उत्साह बढ्ने अध्यक्ष नेपालको विश्वास छ ।
फूलबारीलाई आकर्षक र पर्यटकको सुविधाका लागि विभिन्न कामहरू भइरहेका छन् । उद्यान भित्र विभिन्न वाटिका, चिडियाखाना र बाल उद्यान छन् । पछिल्लो पटक यहाँ बनाइएको स्काई साइक्लिलिङ, ऐतिहासिक मजार थान, कुँडुले घर, सन्चो–बिसन्चो केन्द्र, चिडियाखाना र बगैंचा निर्माण तथा व्यवस्थापनपछि यहाँ आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षमा नर्सरी, प्लास्टिक टर्नेल, विभिन्न सेडहरु पर्यटकहरूलाई भुल्नको लागि विभिन्न संरचनाहरू बनेको अध्यक्ष नेपालको भनाइ छ ।
सुरुमा १५ बिघा क्षेत्रफलमा स्थापित पार्क अहिले २५ बिघामा फैलिएको छ । उद्यान परिसरमा मणिमुकुन्द सेनकै पालामा निर्मित शिव मन्दिरलाई प्यागोडा शैलीमा पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । दरबारको भग्नावशेष नजिकै रहेको स्वामीनारायण मन्दिरले धार्मिक पर्यटकहरूलाई आकर्षण गरिरहेको छ । विष्णु पादुकाका रूपमा चिनिने स्वामीनारायण मन्दिर दर्शनका लागि प्रत्येक वर्ष वैशाख र जेठ महिनामा भारतका विभिन्न स्थानबाट ठुलो सङ्ख्यामा तीर्थयात्रीहरू आउने गरेको अध्यक्ष नेपाल बताउँछन् ।
पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियो छायांकनका लागि पनि मणिमुकुन्द सेन उद्यान आकर्षक स्थल बनेको छ । मणिमुकुन्द सेनको इतिहास स्मरणीय राख्न उद्यानभित्र मणिमुकुन्दको पूर्ण कदको घोडसवार शालिक निर्माण गरिएको छ । उद्यानमा मानवपुर्खा मानिने रामापिथेकसको अर्धकदको शालिक पनि रहेको छ । यसैगरी शान्ति र वीरताको सन्देशसहित मायादेवी, गौतम बुद्ध, मणिमुकुन्द सेन, उजिरसिंह थापा, यादवनाथ आलोक, लखन थापा, दशरथ चन्द, तारापति भट्टराई, बसिर मिया, जीवराज आश्रित, सूर्यप्रसाद घिमिरे र चोकबहादुर गुरूङ लगायतका अर्धकदका शालिक राखेर ‘बुटवल स्मारक’ निर्माण गरिएको छ । उद्यानको पूर्वी उत्तर कुनामा प्रेमको प्रतीकको रूपमा मुनामदन बाटिकासमेत रहेको छ ।
उद्यानमा चितुवा, भालु, बाँदर, स्याल, वन बिरालो, सेतो मुसा, हरिण, नीलगाई, जरायो, मृग, अजिङ्गर, खरायो, कछुवालगायत जनावर र मयूर, सुगा, ढुकुर, परेवालगायत चराचुरुङ्गी संरक्षण गरी मिनि चिडियाखाना बनाइएको छ । बुटवलको पश्चिम–उत्तरतर्फ जितगढी किल्ला र पुरानो बटौली बजारको माथिल्लो भागमा अवस्थित मणिमुकुन्द सेन उद्यान चुरेको शीरमा रहेको ऐतिहासिक स्थल नुवाकोट पैदल मार्गको प्रस्थान विन्दु पनि हो ।
उद्यानको पश्चिम कुनामा मणिमुकुन्द सेनले निर्माण गरेको त्यही शीतकालीन दरबारको भग्नावशेष छ । झन्डै ६ सय वर्ष पहिले निर्माण गरिएको यो दरबारको भग्नावशेषलाई पुरातत्त्व विभागले संरक्षण गर्दै आएको छ । वरिपरि फलामे बार हालेर सुरक्षित गरिएको दरबारको भग्नावशेषको नियमित रेखदेखको काम भने मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले गर्दै आएको पूर्व अध्यक्ष खेमप्रसाद लुइँटेलले बताए।
तत्कालीन पाल्पाली राजा रुद्र सेनका जेठा छोरा मुकुन्द सेन विसं १५७५ मा पाल्पाका राजा भए । विसं १६१० मा देवघाटमा तपस्यामा लीन भई सिद्धि प्राप्ति गरेपछि मुकुन्द सेनलाईमुनि मुकुन्द हुँदै मणिमुकुन्द भन्न थालियो । राजकाजमा पोख्त राजा मणिमुकुन्द सेनले बुटवलमा शीतकालीन तथा पाल्पा र रुपन्देहीको सीमा क्षेत्र नुवाकोटमा गृष्मकालीन दरबार निर्माण गरी राज्य चलाएका थिए । सेन वंशका राजाहरूले रंगमहलका रूपमा प्रयोग गरेको यो दरबार १७औँ शताब्दीमा जितगढीमा भएको अङ्ग्रेज फौजसँगको युद्धमा नेपाली सैनिकहरुले प्रयोग गरेका थिए । त्यही युद्धको क्रममा अङ्ग्रेज फौजको आक्रमणमा दरबार भत्किएको थियो भन्ने इतिहास छ । मणिमुकुन्द सेनले बुटवलमा निर्माण गरेको शीतकालीन दरबारको संरक्षण गर्दै जाँदा मणिमुकुन्द सेन उद्यान अर्थात् बुटवल फूलबारी बनेको अध्यक्ष नेपालले बताए ।
उद्यानमा विभिन्न संरचनाको विकास तथा निर्माण गर्नुपर्ने भए पनि स्रोत अभावका कारण काम अगाडि बढाउन नसकिएको उद्यानका महासचिव घिमिरेले बताए । ‘पर्याप्त आर्थिक स्रोत, उद्यान सम्बन्धी स्पष्ट नीतिको अभाव र कानुनी जटिलता विकासको चुनौतीका रूपमा समेत देखिएको छ ।’, उनले भने । चालु आर्थिक वर्षमा रिचार्ज पोखरी तथा झरना निर्माण, मजारथान भन्दा उत्तरको क्षेत्रमा पर्खाल लगाउने तथा पार्क आतिथ्य बाटिका स्थापना गर्ने साथै पर्यटकको संख्या बढाउन पूर्व पश्चिम लोकमार्ग लगायतका अन्य क्षेत्रहरूमा फूलबारी सम्बन्धी सूचना तथा जानकारी बोर्डहरू राख्ने योजना बनाएको महासचिव घिमिरेले बताए।
उद्यानमा नर्सरी उत्पादनलाई व्यावसायिक बनाउँदै, दरबार क्षेत्रको संरक्षण, बगैँचा सौन्दर्यीकरण, नयाँ सेल्फी जोन, ट्रि रेष्टुराँ, सिसाको पुल, जिपलाइनजस्ता संरचनाहरू निर्माणका लागिसमेत अध्ययन र तयारी भइरहेको उनले बताए । यस्तै, मुनामदन बगैँचाको सौन्दर्यीकरण, बुटिक गार्डेनको अवधारणा, ‘एक्युरियम’, डिजिटल सूचना केन्द्र, राष्ट्रिय–अन्तराष्ट्रियस्तरमा मिडिया सहकार्य तथा ‘रिसर्च फेलोसिप’ कार्यक्रम सञ्चालन गर्नेजस्ता योजना रहेका महासचिव घिमिरेको भनाई छ । उद्यानमा अहिले १६ जना स्थायी तथा करार र २० जना दैनिक ज्यालादारी गरी ३६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । भने सटर, बाल उद्यान र अन्य सेवा सञ्चालनमार्फत झन्डै १५० जनाले रोजगारी पाएका छन् ।





About Us
प्रतिक्रिया