कर्णाली विकास बैंकः २ अर्ब दायित्वलाई शेयरमा परिणत गर्ने तयारी


काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंक घोटाला प्रकरणमा डुबेको रकमलाई शेयरमा परिणत गर्ने योजनामा छलफल अघि बढाएको छ । ४ अर्ब ३० करोड रुपैयाँ दायित्व भएको बैंक डुबेपछि यतिबेला नेपाल राष्ट्र बैंकले यसको व्यवस्थापन सम्हालिरहेको छ । यसक्रममा बैंकको सम्पत्ति र तिर्नुपर्ने दायित्वबीच २ अर्ब रुपैयाँको फरक देखिएको छ । यो फरकलाई कसरी मिलान गर्ने भनेर नेपाल राष्ट्र बैंकको टाउको दुखाई बनिरहेको छ । यसको अर्थ बैंकले तिर्नुपर्ने कूल रकम ४ अर्ब ३० करोड रुपैयाँ छ ।

तर, बैंकमा रहेको निक्षेप, कर्जा वितरणबाट उठ्ने रकम लगायत कूल सम्पत्ति २ अर्ब ३० करोड हाराहारी मात्रै देखिएको फिल्डमा खटिएका राष्ट्र बैंकका कर्मचारी टिका खतिवडा बताउँछन् । उनकाअनुसार अहिलेसम्मको अनुसन्धानबाट २ अर्ब रुपैयाँ दायित्व मिलान कसरी गर्ने भन्ने विषय नै खोजिइरहेको छ । देखिएको २ अर्ब रुपैयाँको फरकलाई शेयरमा परिणत गर्ने विषयमा समेत छलफल भइरहेको खतिवडा बताउँछन् । ‘बचतकर्ताको बचत फिर्ता दिन सक्ने स्थितिमा रहेमा दिइन्छ,’ उनले भने, ‘अन्यथा उहाँहरूको रकम बराबरको शेयरमा परिणत गर्न सक्ने विकल्पमा समेत छलफल भइरहेको छ ।’

कर्णाली विकास बैंकमा अर्बौँ रुपैयाँ अपचलन भएपछि यतिबेला राष्ट्र बैंकले टेकओभर गरिरहेको छ । राष्ट्र बैंकले टेकओभर गरेसँगै केन्द्रीय अनुसन्धान ब्यूरोले समेत बैंकका तत्कालीन अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित ४ जना पक्राउ गरिसकेको छ । यसबाहेक, ब्यूरोले सम्पूर्ण अनुसन्धान समेत सकेर १११ जनाविरुद्ध मुद्दाको अन्तिम तयारी थालेको छ ।

बैंकको घोटाला प्रकरणमा ३ अर्ब २० करोड ११ लाख बिगो माग दाबी गरिने ब्यूरोले बताएको छ । राष्ट्र बैंकका उप–निर्देशक खतिवडाले निक्षेपकर्ताको निक्षेप शेयरमा रूपान्तरण गर्ने विषय उत्कृष्ट विकल्प हुन सक्छ । यद्यपि, यो विषयमा राष्ट्र बैंकको माथिल्लो तहबाट निर्णय हुनेछ ।