काठमाडौं – झापा इनर्जी लिमिटेडले आज (साउन १४) गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीले कुल जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको कुल शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेकका झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त, आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ १२ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा साउन २८ गते हुनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। जसमा स्थानीय बासिन्दाले हिमालयन बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया