बैंकिङ्ग क्षेत्रमा तरलता थुप्रिने क्रम रोकिएन, २५ अर्ब निक्षेप संकलन गर्न बोलपत्र आह्वान


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् साउन १४ गते २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ्ग प्रणलीमा थुप्रिएको तरलता व्यवस्थापनका लागी निक्षेप संकलन गर्ने भएको हो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागकाअनुसार ४२ दिनको लागि निक्षेप संकलन उपकरणको प्रयोग गरी २५ अर्ब बोलकबोल गर्ने भएको हो । सो निक्षेपको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ भने आज मध्यान्ह ३ः०० बजेसम्म बोलकबोल हुनेछ ।

सो निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८२ भदौ २५ गते हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्म बोलकबोल गर्नसक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राखेको निक्षेपलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने एसएलआर तथा तरलता रेसियोमा गणना गर्न पाइनेछ ।