काठमाडौं – साना तथा मझौला उद्यमीलाई सघाउने लक्ष्यसहित ग्लोबल आईएमई बैंक अघि बढेको छ । कूल गार्हस्थ उत्पादन (जीडीपी)मा २२ प्रतिशतभन्दा बढीको योगदान गरिरहेका उद्यमीहरुलाई फैलाउने लक्ष्यसहित ‘हाट बजार’ नै सञ्चालनमा ल्याउँदै बैंकले सघाइरहेको हो ।
साना उद्यमीले उत्पादन गर्ने स्थानीय उत्पादनलाई बजार प्रबद्र्धनमा सघाउने लक्ष्य ‘ग्लोबल हाट बजार’को रहेको छ । विगत केही सातायता बैंकले प्रत्येक शुक्रबार हाट बजार सञ्चालन गर्दै आइरहेको छ । जसमा कयौं स्थानीय उत्पादक साना तथा मझौला उद्यमीलाई प्रबद्र्धन गरिरहेको छ ।
ग्लोबलले ‘उद्यमीको उत्पादन ग्लोबल आईएमई बैंकको प्रोत्साहन’ नारा नै बनाएर हाट बजार सञ्चालन गर्दै आएको हो । बैंकले आयोजना गरेको सो हाट बजारमा विभिन्न साना तथा मझौला उद्यमले आफ्नो उत्पादनहरू प्रदर्शनी गर्दै आइरहेका छन् ।
हाट बजारमा स्थानीय किसान र व्यवसायीहरूबाट ताजा तरकारी, हस्तकलाका सामाग्रीहरु र मौलिक उत्पादनहरूको प्रत्येक बिक्री तथा प्रदर्शनीका लागि राखिन्छ । ग्लोबल आईएमई बैंकले यसरी स्थान नै दिएर आफ्नो उत्पादन र साना मझौला उद्यमीलाई अवसर दिएको सनशाइन हेम्प्स प्रालिका सञ्चालक नरेन्द्र बोहोरा बताउँछन् ।
उनले ‘हेम्प’बाट कपडा तथा झोला बनाउँदै बेच्दै आइरहेका छन् । ग्लोबल हाट बजारमा सहभागी भएपछि बजार विस्तारमा आफुहरुलाई सहज भएको उनको भनाई छ । उनले राज्यले साना व्यवसायीलाई सहयोग नगरेपनि बैंकहरुबाट भने सोचेभन्दा बढी सहयोग पाएको बताए ।
बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सहजीकरण गर्न हाट बजार सञ्चालन गरेको हो । जसले उद्यमीहरूको उत्पादनलाई सोझै बजारसम्म र्पुयाउन सहयोग गर्छ ।
त्यस्तै, ग्लोबल हाट बजारमा सहभागी एग्री डाइरेक्ट ग्लोबल प्रालिका सञ्चालक सुहृद प्रसाद चापागाईं पनि राज्यले आफुहरुलाई सहयोग नगरेको गुनासो गर्छन् । उनले ग्लोबल आईएमई बैंक उद्यमीको साथी बनेको समेत बताए । ‘सबै काम हामी नै गर्छौ ।
तर, यहाँ यो प्लेटफर्म दिएर सेवाग्राहीसँग सिधै कुरा गर्न र डिल गर्न दिएपछि उद्यमीलाई यो भन्दा के चाहियो’ उनले भने, ‘बैंकले यस्तो प्लेटफर्म दिँदा बजारको माग बुझ्न पनि सहज हुन्छ ।’ उनले बैंक तथा वित्तीय संस्थासँगै राज्यले पनि हेर्नुपर्ने अवस्था रहेको बताए ।






About Us
प्रतिक्रिया