राष्ट्र बैंकले बुझ्यो तेस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्श’को प्रतिवेदन


काठमाडौं – तेस्रो संस्करणको ‘नेशनल बैंकिङ्ग डिस्कोर्श’, २०२५ को प्रतिवेदन नेपाल राष्ट्र बैंकले बुझेको छ । नेपाल राष्ट्र बैंकको नेतृत्वतहले यही वर्ष २०८२ को जेठ २२ गते सम्पन्न तेस्रो संस्करणको बैंकिङ्ग डिस्कोर्शको प्रतिवेदन बुझेको हो । राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल, डेपुटी गभर्नरद्वय डा.नीलम ढुंगाना र बमबहादुर मिश्रले राष्ट्र बैंकका लागि बैंकिङ्ग डिस्कोर्शको प्रतिवेदन बुझेका हुन् ।

तेस्रो संस्करणको नेश्नल बैंकिङ्ग डिस्कोर्शको प्रतिवेदन बुझाउँदै बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले बैंकिङ्ग डिस्कोर्शमा उठेका विषयहरू नेपालको बैंकिङ्ग क्षेत्रलाई थप मजबुत र दिगो बनाउनतर्फ केन्द्रित रहेको बताए । यस्तै, ढुंगेलले असार २७ गते सार्वजनिक मौद्रिक नीतिमा समेत धेरै विषयहरू समेटिएको बताए । डिस्कोर्शमा उठेका विषयहरूलाई समेटेर बनाइएको प्रतिवेदनमा विभिन्न विषयमा सुझाव दिइएको छ । बैंकिङ्ग क्षेत्र दिगो र भरपर्दो बनाउन आवश्यक र नियामकीय निकायले अङ्गीकार गर्नुपर्ने तथ्य प्रतिवेदनमा समेटिएको छ ।

डिस्कोर्शको छलफल बमोजिम बनेको सुझावमा समेटिएका नियो बैंक र रेगुलेटरी स्यान्ड बक्सको विषय मौद्रिक नीतिमा समेटिएको छ । यसबाहेक, वित्त नीति र मौद्रिक नीतिको तालमेल, स्थिर ब्याजदर लगायतका विषय समेत प्रतिवेदनमा सुझावकारुपमा समेटिएको छ । डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका थिए भने नेपाल राष्ट्र बैंकका गभर्नरको भर्चुअल उपस्थिति रहेको थियो भने सिनियर डेपुटी गभर्नर डा. नीलम ढुंगाना, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डे लगायतको उपस्थिति थियो।

यसबाहेक, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्त संस्था संघका अध्यक्षहरूको समेत उपस्थिति थियो । यसबाहेक, अर्थमन्त्रालय, योजना आयोग, राष्ट्र बैंक, निजी क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको समेत उपस्थिति थियो। कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्रमा छलफल भएको थियो । जसमधये, ‘नेपालमा कर्जा विस्तारको चुनौती, कर्जा विस्तारको समस्या, ‘ओपन बैंकिङ्ग र फिनटेक र वित्त र मौद्रिक नीतिको तालमेल नामक शीर्षक थिए । यसबाहेक, डेपुटी गभर्नर बमबहादुर मिश्रले ‘कि नोट स्पिच’ दिएका थिए भने पूर्व अर्थमन्त्री डा. प्रकाशसरण महतसँग विशेष सत्र भएको थियो ।

यीनै सत्रगत छलफलहरूमा उठेका महत्त्वपूर्ण विषय राखेर बैंकिङ्ग समाचारले प्रतिवेदन तयार पारेको छ । यही प्रतिवेदन नेपाल राष्ट्र बैंकले बुझेको हो । प्रतिवेदन बुझ्दै गभर्नर डा.पौडेलले ‘बैंकिङ्ग डिस्कोर्श’ले बैंकिङ्ग क्षेत्रको वर्तमान समस्या पहिचान गर्दै समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै, डिस्कोर्शमा उठेका आवश्यक विषयहरू केन्द्रीय बैंकले नीतिगत व्यवस्थामा परिणत गरिरहेको र भावी दिनमा पनि महत्त्वपूर्ण सुझाव समेट्दै जाने बताए ।