काठमाडौं – कर्णाली विकास बैंकको घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकेको छ । सीआइबीले कर्णाली विकास बैंकको घोटाला प्रकरणमा १११ जनाविरुद्ध मुद्दा दर्ता गरिने आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखाका प्रमुख होबिन्द्र बोगटीले बताए । सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालत नेपालगन्जमा मुद्दा दर्ता गर्नेछ ।
बैंकको घोटाला प्रकरणमा ३ अर्ब २० करोड ११ लाख बिगो माग दाबी गरिएको बोगटीले बैंकिङ्ग समाचारलाई बताए । बोगटीका अनुसार हालसम्म ४ जना पक्राउ परेका छन् । पक्राउ परेका ४ जनासहित बैंककाे रकम घाेटाला प्रकरणमा मुछिएका कुल १११ जनाविरुद्ध मुद्दा दायर गरिएकाे उनले बताए । यस प्रकरणको अनुसन्धान गर्न सीआईबीले डिएसपी दान बहादुर थापासहित ४ जनाको टोलीलाई रुपन्देही पठाएको थियो । पक्राउ परेका चार जना नै हाल रुपन्देहीमा नै रहेका छन् ।
यस प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्व अनुगमन अधिकृत भुवन बस्नेत समेत पक्राउ परेका छन् । उनको खातामा कर्णाली बैंकबाट १० लाख रुपैयाँ आएको पाइएकाले उनलाई पक्राउ गरिएको थियो । तत्कालीन समयमा उनी राष्ट्र बैंकको अनुगमन अधिकृत पदमा रहेका थिए। उक्त समयमा नै बैंकमा घोटाला भएको थियो । जिम्मेवार अधिकृतका रूपमा कार्यरत उनले बैंक समस्याग्रस्त हुँदा समेत नाफामा रहेको देखाएर संस्थागत अपचलन लुकाउन सहयोग प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ४ पुगेको थियो ।
पक्राउ पर्नेमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र, तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी र नेपाल राष्ट्र बैंकका पूर्व अनुगमन अधिकृत भुवन बस्नेत छन् । स्थापनाकालबाट नै अपचलन हुँदै आएको भएतापनि राष्ट्र बैंकले कर्णाली बैंकलाई २०८१ साल पुस १० गते समस्याग्रस्ता घोषणा गरेको थियो । राष्ट्र बैंकको ‘ख’ वर्गमा रहेको उक्त बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ‘ख’ बमोजिम ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको थियो।





About Us
प्रतिक्रिया