बुटवल – लुम्बिनी प्रदेशमा सरकार गठन भएको एक वर्षपछि मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पाण्डेयलाई मन्त्री नियुक्त गरेको जानकारी आइतबार नै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले जानकारी दिए । पाण्डेयले सोमबार दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको लोसपा संसदीय दलका प्रमुख सचेतक हेमा बेल्वासेले जानकारी दिइन् । तीन सांसद रहेको लोसपामा पाण्डेय संसदीय दलका नेता हुन् ।
मुख्यमन्त्रीसहित हाल ११ सदस्यीय रहेको प्रदेश मन्त्रिपरिषद्मा रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आचार्य आफैले सम्हाल्दै आएका थिए । वर्तमान मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना काँग्रेसबाट र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री रहेका छन् ।






About Us
प्रतिक्रिया