राष्ट्र बैंक, बोर्ड, संस्थान, प्रतिष्ठान, प्राधिकरण लगायत क्षेत्रमा चालू वर्षदेखि आबद्ध हुने सम्पूर्ण कर्मचारी सम्बन्धित संस्थाले अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा जानुपर्ने भएको छ । अर्थमन्त्रालयले नयाँ व्यवस्था गर्दै चालू वर्षदेखि यस्तो व्यवस्था गरेसँगै वर्षेनी राज्य कोषमाथि आइपर्ने अर्बौंको भार कम हुने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा मात्रै सरकारले पेन्सन र उपदानमा ८१ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएको थियो र यो रकम वर्षेनी बढ्दै गइरहेको छ । नयाँ व्यवस्थासँगै बढ्दो पेन्सनको भार घट्नेछ ।
यसबाहेक, कोषमा ८६ अर्ब रुपैयाँ संकलन भएको छ भने १५ अर्ब रुपैयाँ भुक्तानी पनि भइसक्यो । २३ लाख योगदानकर्ता र २१ हजार रोजगारदाता आबद्ध भइसकेको कोषमा संकलन भएको रकम परिचालन र लगानीको अन्यौलता छँदैछ । यही र यिनै विषयसँग सम्बन्धित रहेर कोषका कार्यकारी निर्देशक कविराज अधिकारीसँग बैंकिङ्ग बहसमा गरिएको कुराकानीको सम्पादित अंश:–
अर्थमन्त्रालयले जारी गरेको चालू वर्षको व्यवस्थाको आधारमा सामाजिक सुरक्षा कोष सञ्चालनमा आएको ६ वर्षपछि पूर्ण कार्यान्वयनमा आयो भन्न मिल्छ ? यसलाई कोष स्वयमले कसरी लिइरहेको छ ?
पत्रमा स्पष्टरुपमा नै दायित्व समयमा व्यवस्थापन गर्नुपर्छ भनेर लेखिएको छ । कर्मचारी विनियमावलीमा नै उपदानको व्यवस्था परिकल्पना गरिएको छ । तर, उपदान पाउने वा रिटायर हुने समयमा संस्थान र बोर्डमा पैसा नहुने र यसको दायित्व अर्थमन्त्रालयमा पर्दै आइरहेको थियो । यो दायित्वको व्यवस्थापन समयमा नै गर्नुपर्छ भनेर यो व्यवस्था आएको हो।

अब ती संस्थाहरू सामाजिक सुरक्षा कोषमा जोडिएपछि दीर्घकालीन दायित्वको तनाव राज्य कोषले लिनुपरेन । यसबाहेक, जीवनचक्रका सम्पूर्ण सुरक्षाका विषय पनि कोषले समेट्छ नै । यसलाई सकरात्मकरुपमा लिनुपर्छ । कोषमा जोडिनुभएका र जोडिन चाहनेलाई यो विषय बुझाउनुपर्छ । अहिलेसम्म सरकारी क्षेत्रका कर्मचारी कोषमा आउनु नपर्ने र अन्य मात्रै आउनुपर्ने भन्ने प्रश्नको जवाफ मिल्यो ।
अब शिक्षक, नेपाल प्रहरी र नेपाली सेनाबाहेक सबैजसो क्षेत्र कोषमा जोडिएको छ वा जोडिन मिल्ने अवस्था सृजना भएको छ । अब यो वर्षदेखि ती संस्थान र बोर्डका कर्मचारीको भार वा यसबाट सरकारमाथि पर्ने सकारात्मक प्रभाव देखिन त ३०/४० वर्ष लाग्ला नि ?
यसको लाभ त तत्कालै सुरु हुन्छ । संसारमा बुझ्नुपर्ने विषय ‘पेन्सनएबल एज’ हुन्छ । श्रम ऐनले सेवा निवृत्त बन्ने उमेर ६० वर्ष भनेको छ । संघीय निजामती ऐनमा ६० वर्ष छ । सामाजिक सुरक्षा कोषले पहिला नै ६० वर्ष भनेको थियो । निवृत्तिभरणको रकम पनि त सुरुमा नै व्यवस्थापन समयमा नै गर्नुपर्यो । यो योगदानमा आधारित हो । यहीकारण, आफूले योगदान गरेर निवृत्तिभरण लिने व्यवस्था हुनुपर्यो वा राज्यले ब्यहोर्नुपर्यो । अन्यथा अन्य योगदानकर्ताको योगदानबाट कमाई नहुने वा नभएकाहरूलाई सेवा दिनुपर्यो ।
सामाजिक सुरक्षा कोष २०६७ सालदेखि सञ्चालनमा आएर कर व्यवस्थापन गर्ने निकायकारुपमा रह्यो । २०७६ सालदेखि यो संरचनामा आधारित रहेर सामाजिक सुरक्षा कोषको काम थाल्नुभयो । यो अवधिमा शिक्षक, सेना र प्रहरी कोषमा आउन सकेका छैनन् । किन ?
यो सरकारले सोच्ने विषय हो । यसका लागि ८ वर्षको समय पर्याप्त पनि होइन । दशक वा दुई दशक बितेपछि यसबारे निर्णय हुन पनि सक्छ।
अहिलेको अवस्थामा सामाजिक सुरक्षा कोष पूर्णरुपमा सञ्चालनमा आइसकेको हो वा होइन ?
हो । सामाजिक सुरक्षा कोष पूर्णरुपमा सञ्चालनमा आइसकेको हो । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) कन्भेन्सनले भनेका सम्पूर्ण सम्पूर्णमा लाभ यसमा समेटिएको छ । बेरोजगार भत्ताचाहिँ अहिले समेटिएको छैन । बेरोजगार भत्ताबाहेक अन्य सामाजिक सुरक्षा मापदण्डको ९ वटा विषय कोषले लागू गरिरहेको छ । बेरोजगार भत्ताबाहेकको अवस्थामा कोष पूर्णरुपमा कार्यान्वयनमा छ ।

सामाजिक सुरक्षा कोषमा जन्मदेखि मृत्युसम्मको लाभ समेटिएको छ । श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐनले पनि कोषमा आबद्धताका लागि बाध्य बनाएको छ । यस्तो अवस्थामा कोष पूर्णरुपमा कार्यान्वयनमा आइसकेको छ।
अर्थमन्त्रालयको पछिल्लो व्यवस्थाले सामाजिक सुरक्षा कोषमा आउने योगदानकर्ता र रोजगारदाता संस्था र यसबाट संकलन हुने ‘फण्ड’ कति हुने भन्ने प्रक्षेपण गर्नु भएको छ ?
यसको प्रभाव दुई वटा छ । अर्थमन्त्रालयको पछिल्लो व्यवस्थाले धेरै संस्था आबद्ध हुँदैनन् । यसबाट १० अर्बदेखि २० अर्ब रुपैयाँको ‘फन्ड’ बढ्ला पनि । तर, यसको प्रभाव अर्कोतर्फ धेरै हुन्छ । किनकि, अहिलेसम्म सरकारी संघ संस्थाका लागि बाध्यकारी व्यवस्था नभएको बुझाई व्यापक थियो । त्यो बुझाई त्यागेर अब निजी क्षेत्रले सरकारी संस्था किन आएनन् भनेर प्रश्न गर्ने ठाउँ रहँदैन । यहीकारण, यसको प्रभाव व्यवसाय विस्तारमाभन्दा बढी विश्वास र सबैलाई बाध्यकारी व्यवस्थाकारुपमा लागू हुन्छ।
गत आर्थिक वर्षमा राज्य कोषबाट पेन्सनमा ८१ अर्ब रुपैयाँ भुक्तानी भएको देखिन्छ । चालू वर्षमा सोभन्दा बढी नै जान्छ । अब सरकारी कर्मचारीको दायित्व पनि कोषमा आएपछि सरकारलाई कति दायित्व घट्छ भन्ने हिसाबकिताब गर्नु भएको छ ?
अहिलेको अवस्थामा पेन्सनको रकमले गर्दा पुँजीगत खर्च हुन नसकेको अवस्था छ । सबै पैसा पेन्सन र सामाजिक सुरक्षाका लागि नै खर्च भइरहेको देखिन्छ । वर्षेनी ८० अर्ब रुपैयाँभन्दा बढी रकम पेन्सनमा मात्रै खर्च भइरहेको छ । यस्तो अवस्थामा सामाजिक सुरक्षा र पेन्सनको तनाव कोषले लिएमा राज्यले पुँजीगत खर्च गर्न सक्छ । राज्यमाथि आइपर्ने दायित्व व्यवस्थापन सहजीकरण हुन्छ।

सामाजिक सुरक्षा कोष परिमार्जन भएर अहिलेको स्वरूपमा आएको ८ वर्षको अवधिमा ८६ अर्ब रुपैयाँ संकलन भएको छ । यो रकम प्रत्येक वर्ष बढ्दो अवस्थामा पनि छ । तर, जति बढ्नुपर्ने हो, त्यति नबढेको देखिन्छ । यो कोषको कुन खालको गति हो ?
औपचारिक क्षेत्रसँग हामी सन्तुष्ट छौँ । किनकि, ठुलो रकमको योगदान निरन्तर गरिरहेका छन् । कोषमा जोडिएर वैदेशिक क्षेत्रमा गएकाहरूको संख्या १५ लाख जना छन् । यीमध्ये धेरैलाई कोषको लाभ बारे जानकारी नै छैन । वैदेशिक रोजगारीमा गएका योगदानकर्तालाई हामीले बुझाउन सकेका छैनौँ । चालू वर्षमा उनीहरूलाई बुझाउनमा ध्यान केन्द्रित गर्ने योजना बुनिरहेका छौँ । अहिले त कोषमा अनिवार्य आबद्ध हुनुपर्ने बाध्यात्मक व्यवस्थाका कारण वैदेशिक रोजगारीमा जानेहरू आबद्ध भएका त हुन् । यो पनि हो । तर, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको माग बमोजिम पनि कोषमा विदेश जानेहरूलाई आबद्ध गरिएको हो।






About Us
प्रतिक्रिया