प्रहरीमा सहकारी ठगीविरुद्ध उजुरीको चाङ, सञ्चालकले नै ठग्छन् हजारौं बचतकर्ताको अर्बौं


काठमाडौं – सहकारी संस्था वा सहकारीका पदाधिकारीहरूले सदस्यको विश्वासलाई धोका दिई रकम अपचलन गर्नेहरूको संख्यामा वृद्धि भएको छ । देशव्यापीरुपमा सहकारीको संख्या बढेसँगै यसैको माध्यमबाट अपचलन तथा ठगी गर्नेहरूको संख्या ह्वात्तै बढेको हो । विशेषगरी अर्थतन्त्रमा मन्दी आएसँगै प्रत्येक वर्ष सहकारी ठगीका उजुरी प्रहरीमा व्यापक रूपमा आउने गरेको प्रहरीका अधिकृतहरू बताउँछन् । सहकारीका पदाधिकारीहरूले रकम हिनामिना गर्ने, नक्कली नाफा देखाउने, ऋण वितरणमा अनियमितता गर्ने वा बचतकर्ताको रकम नै फिर्ता नगर्ने जस्ता गतिविधि देखाउने गरेका छन् ।

बचतकर्ता बचत गर्न सहज हुनुका साथै, दैनिक रूपमा थोरै रकम पनि बचत गर्न सकिने र रकम लिन सहकारीका कर्मचारी घरमा नै आउने भएकाले बचत गर्न सहज हुने भएर धेरै सर्वसाधारणहरूले सहकारीमा आफ्नो रकम बचत गर्ने गरेका हुन्छन् । सर्वसाधारणको थोरै पैसा अलिअलि गरेर धेरै बनेपछि कुनै कामका लागि प्रयोग गर्न सहज हुने आसले सहकारीमा पैसा जम्मा गर्ने गरेका हुन्छन् ।

तर, पैसा फिर्ता नै नगर्ने, रकम हिनामिना गरिदिने जस्ता घटनाहरूको उजुरीको प्रहरीमा चाङ लागि सकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । यस्ता घटनाहरूमा माथिल्ला पदमा रहेका सहकारी कर्मचारी, प्रहरी अधिकारी देखि नेताहरूको नै संलग्नता रहेको पाइन्छ । सहकारी संस्थाको स्थापना सानो रकम पनि दिनहुँ जम्मा गर्दा ठुलो रकममा परिणत हुने भएकाले सामान्य परिवारका साना समस्यालाई समाधान गर्न सहज हुने उद्देश्यले गरिएको भएता पनि सोचेअनुरूप नभएको देखिएको छ ।

यसरी सहकारी ठगीका घटनाको प्रहरीमा उजुरीको चाङ नै लाग्न थालेका छन् भने सहकारीका सञ्चालकहरू फरार हुने क्रम बढ्दो छ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ स्वकृति गरेको छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार कोरोना महामारी यता सहकारी ठगीका घटनाहरूमा वृद्धि भएको देखिन्छ । तर, त्यस अघि प्रहरीमा सहकारी ठगीका उजुरी भने नपरेका होइनन् । सहकारीमा सुरुदेखि नै करोडौँ रुपैयाँ हिनामिना भइरहेको र यो क्रम पछिल्लो समय झनै बढेको प्रहरीको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष (आव) २०७५/२०७६ बाट चालु आवको चैतसम्ममा प्रहरीमा २७७ वटा उजुरी परी सकेको प्रहरीले जनाएको छ ।

पछिल्ला समयमा सहकारी ठगीका घटनाहरूले गर्दा सर्व साधारणको मनमा सहकारी ठगीको त्रास उत्पन्न हुन थालेका छन् । सहकारी ठगीका घटनाहरू कमी ल्याउनका विभिन्न प्रहरीले विभिन्न समयमा जनचेतनाका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी महानिरीक्षक विनोद घिमिरेले बताएका छन् । उनले भने, ‘पछिल्लो दुई महिनाबाट प्रहरीमा सहकारी ठगीको घटनामा कमी आएको छ ।’

पछिल्ला समयमा सहकारी ठगीका घटनाहरूले गर्दा प्राय जसो व्यक्तिहरू जानकार भइसकेको उनले बताए । भने, ‘यस्ता विषयमा जानकारी नहुनेका लागि समेत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ ।’ सहकारीको अवस्था हेरेर मात्र सहकारीमा रकम जम्मा गर्नुपर्ने उनले बताए । 

नियामक नहुँदा थपियो चुनौती

सहकारी संस्थाको नियमन गर्नका लागि छुट्टै नियामक निकाय नहुँदा चुनौती थपिएको सरोकारवाला बताउँछन् । सहकारी संस्थाको नियामक निकाय नहुँदा संस्था सञ्चालन गर्न विशेष नीति नहुँदा जो कोहीले सहकारी सञ्चालन गर्दै आइरहेका छन् । सहकारीको नियमन नहुँदा संस्था भन्दा सहकारीमा बचत गर्नेहरू समस्यामा पर्ने गरेका हुन् । सहकारीको अवस्था नै थाहा नपाई रकम जम्मा गर्नेहरु ठगीको सिकारमा पर्ने गरेका छन् । 

सहकारी वित्तीय स्थितिको बारेमा सामान्य जानकारी पनि नराखी संस्थामा बचत गर्ने प्रचलन रहँदा पनि सहकारी ठगीमा पर्ने क्रम बढेको पाइन्छ । सहकारीको वित्तीय स्थिति हेरेर मात्र सहकारीमा बचत गर्नुपर्ने प्रहरी प्रवक्ता घिमिरे बताउँछन् । यद्यपि, यति बेला सहकारी प्राधिकरण स्थापना भइसके पनि यसले काम थालिसकेको छैन । प्राधिकरण स्थापना भएर अध्यक्ष नै नियुक्त भइसकेको स्थिति रहे पनि काम थाली नसकेको हो ।

प्रहरीमा उजुरीका चाङ

आव २०७५/२०७६ मा सहकारी ठगीका ६ वटा उजुरी परेका थिए । जसमा संलग्न रहेको अभियोगमा ८ जना पक्राउ परेका थिए भने उनीहरूले ७६ लाख ५४ हजार रुपैयाँ बराबरको सहकारीको रकम हिनामिना गरेको प्रहरीले जनाएको छ । आव २०७६/२०७७ मा सहकारी ठगीका ८ वटा उजुरी दर्ता भएका थिए । जसमा संलग्न रहेको अभियोगमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो भने उनीहरूले २६ करोड १२ लाख रुपैयाँ बराबरको सहकारीको रकम हिनामिना भएको थियो ।

त्यस्तै, नेपालमा कोरोना महामारी फैलिए पछि नेपालमा सहकारी ठगीका घटनाहरू बढ्नुका साथै रकम हिनामिनामा समेत वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ । आव २०७७/२०७८ मा सहकारी ठगीको विरुद्धमा २० वटा घटना दर्ता भएका थिए । जसमा संलग्न रहेको संलग्न रहेको अभियोगमा ७७ जना पक्राउ परेका थिए । साथै, उनीहरूको त्यस वर्षमा मात्र १ अर्ब ११ करोड ४५ लाख रुपैयाँ हिनामिना गरेका थिए । 

आव २०७८/२०७९ मा प्रहरीमा १५ वटा सहकारी ठगीका उजुरी परेका थिए । जसमा संलग्न रहेका ४७ जनालाई प्रहरीले उक्त वर्षमा पक्राउ गरेका थियो । उनीहरूले सहकारीको ७ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ हिनामिना गरेका थिए । आव २०७९/२०८० मा प्रहरीमा आउने सहकारी ठगीका उजुरीको संख्यामा ह्वातै वृद्धि भएको छ । त्यस आवमा मात्र प्रहरीमा ५३ वटा सहकारी ठगीका उजुरी परेका थिए।

त्यस वर्ष ठगीमा संलग्न ६४ जना पक्राउ परेका थिए । उनीहरूले १८ अर्ब ८२ करोड ७५ बराबरको रकम हिनामिना भएको प्रहरीले बताएको छ । गत आव २०८०/२०८१ मा प्रहरीमा ११० वटा उजुरी परेको थियो । जसमा संलग्न रहेको अभियोगमा ३०७ जना पक्राउ परेका थिए । उनीहरूले सहकारीको २८ अर्ब ५१ करोड ३३ लाख रुपैयाँ हिनामिना गरेको खुल्न आएको छ । साथै, चालु आव २०८१/२०८२ को चैत सम्ममा ६५ वटा उजुरी परी सकेका छन् भने सहकारी ठगीमा संलग्न रहेको अभियोगमा ६० जना पक्राउ परिसकेका छन् । उनीहरूले यस आवमा मात्र १० अर्ब ८२ करोड ८६ लाख हिनामिना गरेको तथ्यांकले जनाएको छ।