तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज साउन ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। जसमा जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले उक्त शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक शेयरधनीहरुले आज आइतबार बैंकिङ्ग समयसम्मबिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सक्नेछन्।