साताको शेयरमा मौद्रिक नीतिको प्रभाव: नेप्से ११२ अंकले बढ्दा कारोबार रकम १ खर्ब आसपास 


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि बढेको शेयर बजार यो साता पनि लगातार बढेको छ । साताको पाँच कारोबारकै दिन बढेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समग्रमा ११२ अंकले बढेको हो । यससँगै साताभरिको शेयर कारोबार ९३ अर्ब रूपैयाँ माथि पुगेको छ ।

यस साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ० दशमलव ३२ अंकको वृद्धि देखिएको छ । यससँगै बजार २८ सय ७० दशमलव ९५ को बिन्दुमा रोकिएको थियो । सो दिन कारोबार रकम २० अर्ब माथि पुगेको थियो ।  साताको दोस्रो कारोबारको दिन (सोमबार) भने नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको थियो ।

सो दिन २१ दशमलव ७६ अंकको वृद्धि देखिएको हो । यससँगै बजार २८ सय ९२ दशमलव ७२ को बिन्दुमा रोकियाे । सोमबार कारोबार रकम १० अर्ब १० करोड माथि पुग्यो । त्यसैगरी, तेस्रो कारोबारको दिन (मंगलबार) बजार पुनः उकालो लागेको थियो । यस दिन नेप्सेमा ८० दशमलव ९७ अंकको वृद्धि देखिएसँगै बजार २९ सय ७३ दशमलव ७० को बिन्दुमा पुगेर बन्द भएको थियो। यससँगै कारोबार रकम १९ अब ८२ करोड रुपैयाँको आसपासमा पुगेको हो । 

त्यस्तै, साताको चौथो कारोबारको दिन (बुधवार) ५ दशमलव १७ अंकको वृद्धि  देखिएको छ । सो दिन बजार २९ सय ७८ दशमलव ८८ को बिन्दुमा बजार बन्द हुँदा कारोबार रकम १९ अर्ब १० करोड रुपैयाँ पुगेको थियो । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि शेयर बजार वृद्धिको गति रोकिएन, सो दिन ३ दशमलव ७६ अंकको वृद्धि आएको थियो । योसँगै, १८ अर्ब १३ भन्दा बढी कारोबार भएको थियो ।  त्यस दिन बजार २९ सय ८३ दशमलव ६४ को बिन्दुमा बन्द भएको हो ।