काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई वित्तीय संस्थामाथि नियामकीय उल्लङ्घनका कारण कारबाही गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागमार्फत गरिएको समीक्षा पश्चात् नियम विपरीत कार्य गरेको पाइएपछि सम्बन्धित संस्थामाथि आर्थिक जरिवाना र सचेतना कारबाही गरेकाे हाे ।
राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनल का प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई करार सम्झौता संशोधनमार्फत सेवा सुविधा वृद्धि गरेको भन्दै सचेत गराएको छ। साथै, बैंकले सिटिजन्स फास्ट ट्र्याक लोन अन्तर्गत कर्जा प्रयोगसम्बन्धी अध्ययन गर्न निर्देशनको पालना नगरेको, ब्याजदर अन्तर गणनामा त्रुटि, पुराना कर्जा नयाँ कर्जाबाट चुक्ता गर्ने, तोकिएको समयमा बैंक ग्यारेन्टी भुक्तानी नगर्ने, कर्जा नोक्सानी व्यवस्थापनमा कमजोरी, तथा चालु पूँजीसम्बन्धी मार्गदर्शनको उल्लङ्घन गरेको पाइएपछि सञ्चालक समितिलाई समेत चेतावनी दिइएको छ।
एनआइशी एसिया बैंकलाई राष्ट्र बैंकको निर्देशनविपरीत ऋणीबाट बढी ब्याज असुल गरेको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने ब्याजदर (स्थिर/परिवर्तनीय), किस्तासम्बन्धी व्यवस्थालगायत निर्देशन पालना नगरेको पाइएपछि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । ‘कर्जाको प्रकार, लागू हुने ब्याजदर, किस्तासम्बन्धी व्यवस्था सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाइएको तथा ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई दिएको नदेखिएकाले एनआईसी एसिया बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १ सयको उपदफा १ (क) बमोजिम सचेत गराइएको छ,’ कारबाहीपत्रमा भनिएको छ ।
वित्तीय संस्थातर्फ, पोखरा फाइनान्सले न्यूनतम अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै ३२ लाख ७७ हजार ६७६ रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। यो व्यवस्था २७ माघदेखि २३ चैत २०८१ सम्मको अवधिका लागि लागू भएको हो। केन्द्रीय बैंकले गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्सका सञ्चालक तथा प्रमुख कार्यकारीलाई पनि सचेत गराएको छ । केन्द्रीय बैंकले नोक्सानी व्यवस्था तथा वर्गीकरणको रिपोर्टिङमा कैफियत पाइएको र कतिपय कर्जाको बक्यौता ब्याज/किस्ता असुल गर्न थप कर्जा प्रवाह गरी कर्जा नियमित गरेको पाएपछि सीईओलाई सचेत गराएको छ ।
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ को व्यवस्था विपरीत संस्थाले वार्षिक साधारणसभा भन्दा अगाडि रिक्त सञ्चालक पदमा नियुक्ति नगरेको, साधारणसभामा रिक्त सञ्चालक नियुक्तिका लागि निर्वाचन प्रक्रियामा नगएको र साधारणसभा सकिएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेको पाइएपछि सञ्चालक समिति अध्यक्ष तथा सदस्यलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।






About Us
प्रतिक्रिया