लुम्बिनी प्रदेश

बेलहिया नाकाबाट बढ्दो निर्यात व्यापार, २० अर्ब ९२ करोडको निर्यात

दुई खर्ब ६३ अर्बको आयात


बुटवल – रुपन्देहीको भैरहवास्थित बेलहिया नाका हुँदै भारत तथा तेस्रो मुलुकमा हुने वैदेशिक व्यापारमा वृद्धि भएको छ। भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार पछिल्ला वर्षमा भारत लगायत तेस्रो मुलुकमा हुने निर्यात लगातार बढ्दो छ। तर, आयात र निर्यातबीचको अन्तर भने झन् फराकिलो बन्दै गइरहेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा बेलहिया नाकाबाट निर्यात व्यापार ५३ प्रतिशतले बढेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्षमा २ खर्ब ६३ अर्ब ८२ करोड बराबरको आयात हुँदा २० अर्ब ९२ करोडभन्दा बढीको निर्यात भएको छ । आयात र निर्यात दुवै तथ्यांक हालसम्मकै उच्च हो । अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा बेलहिया नाका हुँदै १३ अर्ब ६८ करोड बराबरको सामान भारत तथा तेस्रो मुलुकमा निर्यात भएको थियो । यस्तै आव ०७९/०८० मा १० अर्ब ७० करोड ९१ लाख र आव ०७८/०७९ मा ७ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए । आयात परिमाणका दृष्टिले बेलहिया मुलुकको दोस्रो ठुलो भन्सार नाका हो ।

गत आर्थिक वर्षमा बेलहिया नाकाबाट प्रशोधित तेलको निर्यात उच्च देखिएको छ । अघिल्लो आर्थिक वर्षसम्म सबैभन्दा बढी भारत तथा तेस्रो मुलुकमा निर्यात हुने वस्तुमा सेन्थेटिक यार्न (धागो) रहने गरेकोमा अहिले प्रशोधित तेलले त्यो स्थान ओगटेको छ । गत वर्षमा भटमासको प्रशोधित तेल सबैभन्दा बढी निर्यात हुने १० वस्तुको सूचीमा १ नम्बरमा रहेको छ । अघिल्लो आवमा प्रशोधित तेल भारत निकासी भएको थिएन । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार बेलहिया नाकाबाट गत आर्थिक वर्षमा ६ अर्ब ९८ करोड १७ लाख ७५ हजारको भटमासको प्रशोधित तेल निर्यात भएको छ । भने ४४ करोड ११ लाख ९२ हजार बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ ।

भटमासको प्रशोधित तेल ३ करोड ५१ लाख ६९ हजार ३४१ लिटर तथा सूर्यमुखी प्रशोधित तेल २४ लाख १५ हजार ३०२ लिटर निर्यात भएको छ । रुपन्देहीका २ तथा नवलपरासीको एक गरी ३ उद्योगले तेल निर्यात गर्दै आएका छन् । विगतमा नेपालबाट पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको भए पनि वि.सं २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमास र सूर्यमुखी तेलको निर्यात बढ्दै गएको देखिएको छ ।

यस्तै, गत आर्थिक वर्षमा सेन्थेटिक यार्नको निर्यात दोस्रो नम्बरमा छ भने तेस्रो नम्बरमा सिमेन्ट खैरो निर्यात भएको छ । एक वर्षमा ३ अर्ब ४९ करोड ९२ लाख ६२ हजारको सेन्थेटिक यार्न निर्यात भएको छ । सेन्थेटिक यार्न नेपालबाट भारत तथा टर्कीलगायतका मुलुकमा निर्यात हुँदै आएको छ । यस्तै १ अर्ब ४७ करोड ८ लाख ३७ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिङ्कर पछिल्लो समय भारततर्फ निर्यात हुन थालेपछि यहाँका उद्योगीहरु उत्साहीत भएका छन् । अर्घाखाँची, जगदम्बा, पाल्पा, शुभश्री तथा सर्वोत्तम सिमेन्टले आफ्ना उत्पादन भारततर्फ निर्यात गरिरहेका छन् । तर, भारतले सिमेन्ट निर्यातका लागि बीआईए (ब्युरो अफ इन्डियन स्ट्यान्डर्डस्) बाट गुणस्तर प्रमाणपत्र अनिवार्य गरेर निकासीमा कडाइ गरेको छ ।

यस्तैगरी खयर कत्था, पिना, तयारी चाउचाउ, नुडल्स, पास्ता, अदुवा, सुठो लगायतका जडीबुटी, खोटो रोजिन, प्लाइउड, विभिन्न वनस्पति उत्पादन तथा चोकर भुससमेत बेलहिया नाकाबाट निर्यात हुने गरेको देखिएको छ । विगतमा भन्दा गत आर्थिक वर्षमा बेलहिया नाका हुँदै विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायत जडिबुटीको निर्यात पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा ९२ करोड २२ लाख ७७ हजार रुपैयाँ बराबरको खयर कत्था निर्यात हुँदा ८३ करोड ४३ लाख १५ हजार रुपैयाँ बराबरको पिना निर्यात भएको छ । यस्तै गरी ७३ करोड ६२ लाख ५८ हजारको फलाम वा स्टीलका भाँडा, ७२ करोड २५ लाख ७५ हजारको चाउचाउ, नुडल्स, पास्ता, ६५ करोड ६२ लाख ५७ हजारको विभिन्न जडिबुटी, ५२ करोड ५२ लाख ३ हजारको खोटो रोजीन र ५१ करोड ५४ लाख २३ हजार रुपैयाँ बराबरको प्लाइउड नेपालबाट निर्यात भएको भन्सार कार्यालयका सूचना अधिकारी चौधरीले बताए ।

दुई खर्ब ६३ अर्ब बढीको आयात
बेलहिया नाकाबाट हुने आयात भने निकै बढी छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार गत आर्थिक वर्षमा २ खर्ब ६३ अर्ब ८२ करोड रुपैयाँका विभिन्न सामान आयात भएका छन् । यो अघिल्लो वर्ष भन्दा ८.७२ प्रतिशतले बढी हो । यस्तै अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा २ खर्ब ४२ अर्ब ६६ करोड बराबरको वस्तु आयात भएको थियो ।

बेलहिया नाका हुँदै नेपालमा सबैभन्दा बढी आयात हुने १० वस्तुहरूमा सबै प्रकारका मोटरसाइकल, जिप, कार भ्यानहरू, पेट्रोल, विद्युतबाट सञ्चालित जिप, कार भ्यान, शुद्ध फलाम (स्पोन्ज/फेरेस आइरन), डबल क्याब पीकअप गाडी, मोबाइल टेलिफोन सेट, एम.एस. विलेट, चकलेट, एल.पी ग्याँस रहेका छन् । गत आर्थिक वर्षमा मोटरसाइकल (सबै प्रकारका) आयात सबैभन्दा धेरै रहेको छ । मोटरसाइकल मात्र १६ अर्ब ९१ करोड ८५ लाख ४४ हजार रुपैयाँ बराबरको आयात भएको छ । एक वर्षमा १ लाख ४४ हजार १९४ वटा मोटरसाइकल बेलहिया नाका हुँदै नेपाल भित्रिएको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष मोटरसाइकलको आयात बढेको छ ।

यस्तै, ४ अर्ब १५ करोड १५ लाख ३८ हजार रुपैयाँ बराबरका ३ हजार ७६१ वटा जिप, कार भ्यान आयात भएका छन् । जिप, कार भ्यान आयात पनि बढेको छ । ६ अर्ब ८ करोड ९१ लाख १९ हजार रुपैयाँका बराबरको पेट्रोल आयात भएको छ भने ६ अर्ब ५ करोड ७८ लाख ९० हजार रुपैयाँ बराबरका ३ हजार २ वटा विद्युतबाट सञ्चालित जिप, कार भ्यान आयात भएका छन् । गत वर्ष पेट्रोल र विद्युतबाट सञ्चालित जिप, कार भ्यान आयात पनि बढेको बढेको छ । यस्तैगरी १ अर्ब ७ करोड ३९ लाख ७१ हजार रुपैयाँ बराबरका ८९० वटा डबल क्याब पीकअप गाडी, १२ अर्ब ९४ करोड ४० लाख ७१ हजार रुपैयाँ बराबरको शुद्ध फलाम, ९ अर्ब ७४ करोड ९९ लाख ३८ हजार रुपैयाँ बराबरका मोबाइल टेलिफोन, ८ अर्ब ६० करोड १४ लाख ३४ हजार रुपैयाँ बराबरको एम.एस. विलेट, १ अर्ब ७९ करोड ४० लाख ३ हजार रुपैयाँ बराबरको चकलेट, ७ अर्ब ६४ करोड ५१ लाख ९४ हजार रुपैयाँ बराबरको खाना पकाउने ग्याँस आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी चौधरीले बताए ।

उनका अनुसार सबैभन्दा बढी आयात हुने १० वस्तुहरूको कुल राजस्वमा योगदान ४७.१५ प्रतिशत रहेको छ । यस्तैगरी गत आर्थिक वर्षमा बेलहिया नाकाबाट डिजेल, टायल, मार्वल, धुलो दूध, एल पी ग्याँस लगायतको आयात भने घटेको छ । एक वर्षमा ८ करोड ३८ लाख ५२ हजारको डिजेल आयत भएको छ । १ अर्ब ७६ करोड ९९ लाख ११ हजार रुपैयाँ बराबरको टायल आयत भएको छ भने १ अर्ब २९ करोड २१ लाख ५ हजारको मार्वल आयात भएको छ ।

६ अर्ब ८३ करोड १४ लाख १६ हजार रुपैयाँ बराबरको पोलिथिन दाना, ६२ करोड ११ लाख ६८ हजार रुपैयाँको आल्मोनियम तार, ५५ करोड २१ लाख ७८ हजार रुपैयाँ बराबरको धुलो दूध, २० करोड ९० लाख ६१ हजारको चुइगम आयात भएको छ । चामलको आयात भने अघिल्लो आवको तुलनामा धेरै बढेको छ । अघिल्लो आवमा ८९ करोड ७२ लाख ८७ हजारको चामल आयात भएकोमा गत वर्ष बढेर २ अर्ब ६५ करोड १६ लाख ५० हजार रुपैयाँ बराबरको चामल आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी चौधरीले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले निर्यातमा भइरहेको सुधार सकारात्मक भएपनि जति हुनुपर्ने हो त्यो अझै हुन नसकेको बताए । भारतले आफ्नो आवश्यकता अनुसार नीति परिवर्तन गर्दा निर्यातमा समस्या हुने गरेको उनले बताए । ‘निर्यातमा थुप्रै झन्झट छन्, व्यवसायी विभिन्न कार्यालय धाउँदा र स्वीकृत लिँदालिँदै थाक्ने अवस्था छ । राज्यले आयातमुखी भन्दा निर्यातमुखी नीति लिनुपर्छ ।’, उनले भने, ‘अव्यवहारिक र व्यावसायिक हित विपरीतका प्रावधान हटाउनुपर्छ । यसपछि नेपालबाट भारत लगायत तेस्रो मुलुकमा हुने निर्यात थप वृद्धि हुन्छ ।’

आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीहरू पलायन भइरहेको अवस्थामा सरकारले राजस्व असुली मात्रै गर्ने नभई व्यावसायिक वातावरण बनाउनुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । ‘आर्थिक मन्दीपछि देशको अर्थतन्त्रमा सामान्य सुधारका संकेत देखा परेका छन् । अहिलेको अवस्थामा निकासीजन्य वस्तुको पहिचान गरी, त्यस्तो क्षेत्रमा उद्योगीहरूलाई सुविधा दिने, आवश्यक परे सरकारले नै लगानी गर्ने र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्छ’, उनी भन्छन्, ‘निराश बनेका उद्योगी–व्यवसायी र आम नागरिकलाई राहतसहित उत्थानका कार्यक्रम ल्याउन जरुरी छ । वस्तु निर्यात गर्ने व्यापारीलाई जतिसक्दो सुविधा र हौसला दिन सके निर्यात व्यापार बढाएर व्यापार घाटा घटाउन मद्दत पुग्छ ।’