धितोपत्र बोर्डको सातबुँदे कार्ययोजना : नियमन तथा सुपरिवेक्षणमा सुधारदेखि जोखिम न्युनीकरणसम्म


काठमाडौं – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागी धितोपत्र बजार तथा वस्तु तथा बजारको विकास, विस्तार तथा सुधारका लागी सातबुँदे कार्ययोजना प्रस्तुत गरेको छ । बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्याक्रम सार्वनजनिक गर्दै विभिन्न सात कार्ययोजना प्रस्तुत गरेको हो ।

धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी कानूनी व्यवस्थालाई अन्तरर्राष्ट्रिय सिद्धान्त तथा मापदण्ड अनुरुप बनाई कानूनी व्यवस्थाको सवलीकरण गरिने भएको छ । नेपाल धितोपत्र बोर्ड तथा धितोपत्र बजार सम्बन्धी सेवा प्रदायकको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धि गरिने बताएको छ ।

यस्तै, नियमन तथा सुपरिवेक्षणमा सुधार धितोपत्र बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गरी बजारमा हुन सक्ने कानून विपरीतका गतिविधि तथा अभ्यासलाई कम गरी कसूरदारलाई कारबाहीको दायरमा ल्याइने उल्लेख छ । धितोपत्र बजारमा क्षेत्रगत तथा औजारगत विविधता ल्याउनुका साथै नयाँ धितोपत्र औजारको विकास तथा विस्तार गर्न सहजीकरण गरिने, प्रणालीगत जोखिम न्युनीकरण गर्दै लगानीकर्ताको हित प्रवद्धर्न गरी धितोपत्र बजारमा जन विश्वास बढाईने बताएको छ ।

धितोपत्र बोर्डले बोर्ड तथा धितोपत्र बजारमा सूचना प्रविधिका पूर्वाधारको विकास गर्दै यसको प्रयोगलाई प्रभावकारी र गतिशिल बनाउने बताएको छ । धितोपत्र बजारसम्बन्धी अध्ययन अनुसन्धान गर्नुका साथै लगानीकर्ताको सशक्तिकरण गर्न देशव्यापीरुपमा पूँजी बजारसम्बन्धी शिक्षा सचेतना तथा साक्षरता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ ।