साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्दै झापा इनर्जी


काठमाडौं – झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएसँगै प्रतिकित्ता १०० रुपैयाँ दरमा जम्मा ९ लाख ५० हजार ४७५ कित्ता शेयर सार्वजनिक निष्कासन गर्ने भएको छ। स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको कुल शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेकका झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं। ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

उक्त, आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन फाराम हिमालयन बैंकका दूधे, दमक, सुरुंगा शाखा र माछापुच्छ्रे बैंकको दमक, सुरुंगा शाखाबाट प्राप्त र बुझाउन सकिनेछ।

आयोजना प्रभावितका लागि आईपीओ आवेदन छिटोमा साउन २८ र ढिलोमा भदौ १२ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन १८ गतेदेखि साउन २८ गतेभित्र आवेदन दिनुपर्नेछ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।