कर्णाली बैंक घाेटाला प्रकरण

राष्ट्र बैंकको बैंक अनुगमन अधिकृतको पद दुरुपयोग गर्ने बस्नेतको खातामा देखियो शंकास्पद कारोबार 


काठमाडौं – नियामकको भूमिका र नियमनकारीको भूमिमा रहेको नेपाल राष्ट्र बैंकका कर्मचारी नै समस्याग्रस्त बैंकसँग अवैध सम्बन्ध रहेको पाइएको छ । राष्ट्र बैंक स्वयमले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंक घोटालामा केन्द्रीय बैंककै कर्मचारीको संलग्नता पाइएको हो।

केन्द्रीय बैंकका पूर्व कर्मचारी भुवन बस्नेतले समस्याग्रस्त बैंक र सो घोटाला प्रकरणमा जोडिएका व्यक्तिहरूसँग रकम लिइएको पाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखाएको हो । अनुसन्धानकाक्रममा बस्नेतको खातामा कर्णाली बैंकबाट १० लाख पठाइएको पाइएको आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले बैंकिङ्ग समाचारलाई बताए ।

घोटाला भएको र समस्यामा परिसकेको बैंकसँग १० लाख रुपैयाँको कारोबार भेटेपछि बस्नेतलाई गत साताको शुक्रबार नै प्रहरीले काठमाडौंको टोखाबाट नियन्त्रणमा लिइसकेको छ । यसले नियमनकारी निकायमा रहेर आर्थिक प्रलोभन तथा अपचलनमा नै केन्द्रीय बैंकका कर्मचारी संलग्न हुने गरेको खुलेको छ । बस्नेत केन्द्रीय बैंकको जागिरेकारुपमा बैंक अनुगमन अधिकृतको हैसियतमा रहँदा पदको दुरुपयोग गरेको तथ्य खुलेको प्रहरीको भनाइ छ । ‘बस्नेतको खातामा कर्णाली बैंकबाट १० लाख पठाइएको पाएकाले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढेको छ,’ बोगटी भन्छन् ।

कर्णाली विकास बैंकमा झन्डै ५ अर्ब रुपैयाँ अपचलन भएपछि यतिबेला बैंकका तत्कालीन अध्यक्षसहित प्रमुख कार्यकारी अधिकृतहरू प्रहरीको फन्दामा छन् । उनीहरू कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घाेषणा गरेसँगै सीआईबीले अनुसन्धान थालेपछि भारत पसेका थिए । सोक्रममा राष्ट्र बैंकमा रहेर बस्नेतले बैंकका तत्कालीन पदाधिकारीहरूलाई गोप्य सूचना दिएको हुन सक्ने आँकलन गरिएको छ।

यहीकारण, उनको खातामा बैंकबाट १० लाख रुपैयाँ आएको हुन सक्ने प्रहरीको बुझाइ छ । तर, यो विषय अनुसन्धानकै क्रममा रहेकाले सो रकम बस्नेतले बैंकबाट कुन प्रयोजनका लागि लिएको भन्न तथ्य खुलेको छैन । यद्यपि, कर्णाली बैंककै घोटाला प्रकरणमाथि अनुसन्धान गर्न फिल्ड नै पुगेका कर्मचारीलाई लाखौँ रुपैयाँ आएको पाइँदा यो आँकलन झनै बलियो बनेको छ ।

किनकि, बस्नेत अनुगमनका लागि राष्ट्र बैंकबाट खटाइएका टोलीको अधिकृत नै थिए । उनी २०७४ सालतिर राष्ट्र बैंकका पूर्व बैंक अनुगमन अधिकृत रहेका थिए । उनले एक वर्षअघि मात्र केन्द्रीय बैंकको सहायक निर्देशक पदबाट अवकाश पाएका थिए । बस्नेतको खातामा कर्णाली बैंकबाट आएको रकम बैंकको रकम अपचलनको नै समयमा आएको सीआइबीले जनाएको हो ।

जिम्मेवार अधिकृतका रूपमा कार्यरत उनले बैंक समस्याग्रस्त हुँदा समेत नाफामा रहेको देखाएर संस्थागत अपचलन लुकाउन सहयोग प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ४ पुगेको सीआइबीले बताएको छ। सीआईबीले यस प्रकरणमा यसअघि पक्राउ परेका  कणाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं पटक–पटक सञ्चालक समितिको अध्यक्षमा रहेका राजेन्द्र बहादुर राय, तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परिसकेका छन् ।

यसबाहेक, तत्कालीन अध्यक्ष पशुपति दयाललाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा बस्नेतको बैंक खातामा कणाली बैंकबाट रकम गएको देखिएपछि बस्नेत तानिएको बोगटी बताउँछन् । कर्णाली विकास बैंक डुबाएर भारत भागेका सीईओ राय यस बैंकको रकम अपचलनका मुख्य योजनाकार थिए । बैंक डुबाउने मुख्य योजनाकारका रूपमा चिनिएका सीईओ रायको कर्णाली विकास बैंकमा झण्डै ८० प्रतिशत संस्थापक सेयर रहेको अनुसन्धानबाट खुलेको छ । राय बैंक स्थापना कालदेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । बैंक समस्याग्रस्त भएपछि पनि उनले लाभांश वितरण गर्दै अपचलनलाई लुकाएका थिए ।

राष्ट्र बैंकका अनुसार यस बैंकले २०७९ सालमा लाभांश वितरण गरेको थियो । त्यसपछि यो बैंंक निरन्तर घाटामा रहेको छ । राष्ट्र बैंकबाट अनुसन्धानको स्वकृति पाएको पछिको पाँच महिनाको खोजीमा रायलाई ब्युरोबाट खटिएका अनुसन्धान टोलीले रुपन्देहीको सिद्धार्थनगरबाट पक्राउ गरेको थियो । रायलाई पक्राउ गर्न राष्ट्र बैंकले अनुमति दिनु भन्दा १५ दिन अघि नै उनी भारत भागेका थिए।