कर्जा लिएर फिर्ता नगर्ने र दुरुपयोग गर्ने क्रम बढ्दो, करोडौँ अपचलनको उजुरी प्रहरीमा


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्न गरेका कर्जाहरूमा दुरुपयोग हुने क्रम बढ्दो देखिएको छ । वित्तीय संस्थाहरूबाट विभिन्न सर्तहरूमा रकम लिई फिर्ता गर्ने क्रममा आनाकानी गर्न र एउटा काम गर्न भनी लिएको रकम अर्को काममा प्रयोग गर्ने जस्ता अवैध क्रियाकलाप बढ्दै गएको हो।

विभिन्न बैंक तथा सहकारी संस्थाहरूबाट शिक्षा, सवारी, घर, कृषि, उद्योग तथा व्यवसायका लागि लिइने कर्जाहरू एकै उद्देश्यका लागि भनेर लिई अर्कै कार्यमा प्रयोग गर्ने तथा समयमा किस्ता नतिरी अपचलन गर्ने गतिविधि बढ्न थालेको प्रहरीको निष्कर्ष छ । नेपाल राष्ट्र बैंकले पटक–पटक निर्देशन जारी गर्दै कर्जा वितरण प्रक्रियामा कडाइ गर्न भने पनि केही बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको वास्तविक आम्दानी स्रोत, धितोको सही मूल्यांकन र ऋण तिर्ने क्षमतामाथि ध्यान नदिई बढी रकम प्रवाह गर्ने गरेका छन् ।

यसरी मनपरी तरिकाले प्रवाह भएको कर्जा फिर्ता गर्न ऋणीहरूले आनाकानी गर्दा पछिल्लो समय बैंकहरूले लिलामी प्रक्रियाबाट रकम असुल गर्नुपर्ने अवस्थामा पुगेका छन् । बैंकहरु र सहकारीहरूले नै अनधिकृत कर्जा प्रदान गर्ने गरेका घटनाहरू पनि प्रहरीमा आउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले शिक्षा कर्जा, घर तथा सवारी कर्जा, कृषि कर्जा, उद्योग तथा व्यवसाय कर्जा जस्ता विभिन्न थरीका कर्जाहरू प्रदान गर्ने गरेका हुन्छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको आम्दानीको स्रोत, ऋण चुक्ता गर्ने क्षमता, धितोको मूल्य, कर्जाको उद्देश्य जस्ता अवस्था कस्तो छ त्यो अनुसार कर्जा दिनुपर्ने हुन्छ । तर, बैंकहरुले ऋणीहरूको अवस्थाभन्दा पनि बढी रकम दिने गरेका छन् । जसले गर्दा पछिल्लो समयमा कर्जा र कर्जाका ब्याजको रकम नतिरेकाले लिलामीमा गरिएका घटना पछिल्ला दिनहरूमा दैनिक रूपमा आउने गरेका छन् ।

नेपाल राष्ट्र बैंकले विना अनुमति कर्जा दिने व्यक्ति र संस्थालाई कारबाही गर्दै आइरहेको छ । यस्ता घटनाहरूमा संलग्न रहको आधारमा राष्ट्र बैंकले केही समय अघि मात्रै कर्णाली विकास बैंकलाई कारबाही गरेको छ । बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन अन्तर्गत दर्ता नभएको संस्थाबाट ऋण लिनु वा दिनु दुवै गैरकानुनी प्रक्रिया हो । यस्ता गैरकानुनी कार्यमा संलग्न हुँदा कानुनी सुरक्षा नपाउने, धोका र ठगी हुने सम्भावना, समाजमा आर्थिक शोषण बढ्ने जस्ता घटनाहरू हुने गर्दछन् ।

कर्जाको दुरुपयोगमा ऋणीको मात्र नभएर बैंक तथा वित्तीय संस्थाहरूको पनि मिलेमतो हुने गरेको छ । जसले कर्जाको दुरुपयोग झनै बढ्दै गइरहेको हो । बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिएको कर्जाहरू एक उद्देश्यका लागि भन्दै अर्को प्रयोजनका लागि प्रयोग गर्नुका साथै कर्जा तिर्न नखोजिने अवस्था सिर्जना भई रहेको छ । आर्थिक वर्ष (आव) २०७५/७६ मा प्रहरीमा प्रहरीमा कर्जा दुरुपयोगका ३७ वटा उजुरी दर्ता भएका थिए।

जसमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने उनीहरूले १ करोड २८ लाख रुपैयाँ अपचलन गरेको प्रहरीले जनाएको छ । साथै, आव २०७६/७७ मा अनधिकृत रूपमा कर्जा लिने वा दिनेका १ वटा उजुरी परेको थियो । जसमा २३ लाख रुपैयाँ अपचलन गरेका थिए । त्यस्तै, आव २०७७/७८ मा कर्जाको दुरुपयोगका१ वटा उजुरी प्रहरीमा दर्ता भएको थियो भने त्यस अवैध कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यस वर्ष कर्जा दुरुपयोगमा १० लाख रुपैयाँ बराबरको अपचलन भएको थियो । आव २०७८/७९ मा एउटा उजुरी प्रहरीमा परेको थियो । कर्जा दुरुपयोगमा संलग्न ४ जना महिलालाई उक्त वर्ष प्रहरी पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरूले ४ लाख अपचलन गरेका थिए । त्यस्तै, आव २०८१/८२ चैत सम्ममा प्रहरीमा कर्जाको र अनधिकृत रूपमा कर्जा लिन र दिने र दुरुपयोग गर्नका दुई वटा उजुरी प्रहरीमा दर्ता भएका थिए । जसमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चालु आवमा १ करोड २४ लाख अपचलन गरेका छन् ।