हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन 


काठमाडौं –  हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्कासन बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (साउन ४) गते अन्तिम दिन रहेको छ।  बैंकलाई नेपाल धितोपत्र बोर्डले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गर्न अनुमति दिएको हो।

जसमध्ये कम्पनीले १०० रुपैयाँ अंकितदरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ बिक्री खुला गरेको छ। हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूह र  २७.०१ प्रतिशत हिस्सा  सर्वसाधारण समूहको स्वामित्वमा रहेको छ। 

उक्त एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि  बैंकिङ्ग समयसम्ममा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।