विराटनगर – कोशी प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्लामा पूर्वाधार कार्यालय स्थापना गर्ने काम सुरु गरेको छ । २०८२ जेठ १९ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातमै पूर्वाधार विकास कार्यालय स्थापनाको काम सुरु भएको हो ।
शुक्रबार सोलुखुम्बुमा कार्यालय स्थापना भएको छ । बिहीबार सुनसरी र खोटाङमा यी कार्यालय खुलेका छन् । प्रदेश सरकारको सबैभन्दा धेरै बजेट खर्च गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत प्रत्येक जिल्लामा पूर्वाधार विकास कार्यालय प्रदेश सरकारले नीति लिएको हो । यसअघि खोटाङले ओखलढुङ्गा र सुनसरीले मोरङमा रहेको पूर्वाधार विकास कार्यालयबाट पूर्वाधार विकाससम्बन्धी काम गर्नुपर्ने बाध्यता रहेको थियो ।
कोशी प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत सहरी विकास कार्यालय र पूर्वाधार विकास कार्यालय गरेर नौ वटा कार्यालय रहेका थिए । सोलुखुम्बु र खोटाङमा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले कार्यालयको उद्घाटन गरेका छन् । सुनसरीको इनरुवास्थित बसपार्कको भवनमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले पूर्वाधार विकास कार्यालय उद्घाटन गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई घर नजिकको सरकारका रूपमा स्थापित गर्न र जनतालाई महसुस हुने गरी काम गर्ने उद्देश्य राखेको बताए । नयाँ कार्यालयहरूले चालु आर्थिक वर्षमा गर्नुपर्ने काम असोज महिनाभित्रै अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् । उनले प्रत्येक जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना भएपछि ‘असारे विकास’ को प्रथा अन्त्य हुने बताए । प्रदेश सरकारले साउन ४ गते आइतबार तेह्रथुम र सोमबार ताप्लेजुङमा पनि पूर्वाधार विकास कार्यालय स्थापना गर्ने जनाइएको छ ।






About Us
प्रतिक्रिया